अमेरिकाले तत्काल इरानमा आक्रमण नगर्ने
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्न लागेको भनिएको ठूलो सैन्य आक्रमण रद्द गरेको घोषणा गरेका छन् । इरान र मध्यपूर्वका अन्य देशहरुको अनुरोधमा आक्रमण रोकिएको बताउँदै कुटनीतिक सम्झौताको प्रराम्भिक खाका पनि तयार भएको अमेरिकी राष्ट्रपति ट्रम्पले बताए ।
यसमा हर्मुज जलडमरु पूर्णरुपमा खुला गर्नु पर्ने र इरानले आणविक कार्यक्रम अन्त्य गर्नु पर्ने शर्त भने कायमै रहेको ट्रम्पको भनाई छ । यसैसाता इरानमा ठूलो सैन्य आक्रमण गर्ने चेतावनी दिएपछि इजरायलले मध्यस्ता गरेको थियो ।
उता, इरानले नयाँ वार्ता र सम्झौताको विषयमा भने कुनै आधिकारिक पुष्टि भने गरेको छैन । इरानका कार्यवाहक रक्षामन्त्री माजिद इब्न अल रेजाले आफूहरु सतर्क र तयार रहेको प्रतिक्रिया दिएको बीबीसीले खबर लेखेको छ ।
साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमानले ट्रम्पसँग फोनवार्ता गरी सैन्य तनाव कम गर्न र वार्तालाई प्राथमिकता दिन आग्रह गरेका छन् ।
ट्रम्पको यो घोषणाअघि अमेरिका र इजरायलले इरानका मुख्य ऊर्जा पूर्वाधारहरूमा अहिलेसम्मकै कडा बमबारी गर्ने योजना बनाएको समाचार बाहिरिएको थियो ।
फेब्रुअरी २८ देखि सुरु भएको युद्धपछि अप्रिलमा भएको युद्धविराम जुन महिनामा भङ्ग भएको थियो । त्यसयता अमेरिकाले इरानी बन्दरगाहमा नाकाबन्दी र बमबारी गर्दै आएको छ भने इरानले अमेरिकी सम्पत्ति र व्यापारिक जहाजिङमा ड्रोन तथा मिसाइल प्रहार गर्दै आएको छ ।
बहराइन, जोर्डन, र युएईजस्ता अमेरिकी सहयोगी राष्ट्रहरू इरानी मिसाइल र ड्रोनको सिधा पहुँचमा रहेकाले आफ्ना खानेपानी तथा ऊर्जा पूर्वाधारमा क्षति पुग्नेमा चिन्तित छन् । होर्मुजमा उत्पन्न अवरोध र युद्धको जोखिमका कारण विश्व बजारमा कच्चा तेलको मूल्यमा तीव्र उतारचढाव आएको छ । पिउ रिसर्च सेन्टरका अनुसार करिब ६० प्रतिशत अमेरिकी नागरिक इरानसँगको युद्धको विपक्षमा छन्, जसका कारण ट्रम्पको लोकप्रियता घटेको छ ।
