आदिकवि भानुभक्त आचार्यको योगदान र नेपाली समुदाय
– धर्मराज कोइराला
तनहुँ जिल्लाको चुँदी–रम्घामा विक्रम संवत् १८७१ मा आदिकवि भानुभक्त आचार्यको जन्म भएको थियो। संस्कृत र नेपाली भाषामा दक्ष भानुभक्तले महर्षि वाल्मीकिद्वारा रचित रामायणलाई सरल, सुबोध र पद्यात्मक नेपाली भाषामा अनुवाद गरी नेपाली जनसमुदायलाई अमूल्य साहित्यिक उपहार प्रदान गरे। नेपाली रामायण मात्र होइन, उनका अन्य कृतिहरूले पनि नेपाली भाषा, साहित्य, संस्कृति र समाजलाई गहिरो प्रभाव पारेका छन्।
भानुभक्तको समय भारतमा बेलायती इस्ट इन्डिया कम्पनीको औपनिवेशिक शासन र नेपालमा राणा शासनको प्रारम्भिक काल थियो। सुगौली सन्धिपछि विशाल नेपालको भूभाग खुम्चिएको थियो। शिक्षाको पहुँच अत्यन्त सीमित थियो। विद्यालयहरू न्यून थिए र सामान्य जनताले औपचारिक शिक्षा प्राप्त गर्ने अवसर पाउँदैनथे। केही सीमित व्यक्तिले मात्र भारतमा गई संस्कृत वा हिन्दी अध्ययन गर्थे।
त्यति बेला अधिकांश विद्वानहरूले संस्कृत वा हिन्दी भाषामै लेखन गर्थे। नेपाली जनताले आफ्नै भाषामा उच्चस्तरीय साहित्य पढ्ने अवसर पाएका थिएनन्। यही अभावलाई भानुभक्तले पूरा गरे। उनले जनभाषालाई साहित्यिक गरिमा प्रदान गर्दै नेपाली भाषालाई राष्ट्रिय एकताको आधार बनाउने महत्त्वपूर्ण कार्य गरे।
नेपाल बहुभाषिक राष्ट्र हो। विभिन्न मातृभाषा बोलिने भए पनि नेपाली भाषा साझा सम्पर्क भाषाका रूपमा विकसित भएको छ। यो कुनै समुदायमाथि थोपरिएको भाषा होइन, बरु सामाजिक अन्तरक्रिया र सांस्कृतिक सहअस्तित्वका क्रममा स्वाभाविक रूपमा विकसित भएको साझा भाषा हो। भाषा सभ्यता, संस्कृति र इतिहासको संवाहक हो। भानुभक्तले यही जनभाषामा रामायण रचना गरेपछि नेपाली घर–घरमा रामायण पुग्यो। मानिसहरूले आफ्नै भाषामा धर्म, नैतिकता र आदर्श जीवनका शिक्षाहरू आत्मसात् गर्न पाए।
यसै सन्दर्भमा प्रचलित यी पङ्क्तिहरू आज पनि सान्दर्भिक छन्–
तुलसीदास वा कालिदास नेपाल जातिका।
प्रेरणा स्रोत हुन् घाँसी गुरु मित्र समानका।।
दुःखमा सुखमा भक्ति ज्ञान वैराग्य आउँदा।
करुणा शान्तिमा पीडा वियोगी मन छाउँदा।।
छोरी बिदाइमा त्यस्तै बुहारी घर आउँदा।
बिहेमा झुल्किने गर्छौँ दोहोरी श्लोक गाउँदा।।
नेपालमा मात्र होइन, भारतका दार्जिलिङ, सिक्किम, कालिम्पोङ, आसाम लगायतका नेपाली भाषी क्षेत्रहरूमा पनि नेपाली भाषा साझा सम्पर्क भाषाका रूपमा स्थापित छ। जहाँ–जहाँ नेपाली समुदाय पुगे, त्यहाँ नेपाली भाषा, नेपाली संस्कृति, नेपाली पोसाक र नेपाली रामायण पनि सँगै पुगे।
भानुभक्तको पहिलो सार्वजनिक सालिक भारतको दार्जिलिङमा स्थापना गरिएको हो। आज पनि दार्जिलिङ, सिक्किम तथा पूर्वोत्तर भारतका नेपालीहरूले भानु जयन्तीलाई सांस्कृतिक पर्वका रूपमा भव्यताका साथ मनाउँछन्। भानुभक्त नेपाली समुदायको सांस्कृतिक पहिचानका प्रतीक हुन्।
अमेरिकाको क्यालिफोर्नियामा आदिकवि भानुभक्तको सालिक स्थापना हुनु विश्व नेपाली समुदायका लागि ऐतिहासिक उपलब्धि हो। यसले प्रवासमा बसोबास गर्ने नेपालीहरूको भाषा, साहित्य र सांस्कृतिक पहिचानलाई थप सुदृढ बनाएको छ।
सन् २०१४ देखि म क्यालिफोर्नियामा बस्दै आएको छु। साहित्यप्रति रुचि भएकाले यहाँका साहित्यिक गतिविधिहरूमा नियमित सहभागी हुँदै आएको छु। सन् २०१७ मा दार्जिलिङ भ्रमणका क्रममा भानु चोकमा रहेको भानुभक्तको सालिक देखेपछि अमेरिकामा पनि भानुभक्तको सालिक स्थापना हुन सके कति राम्रो हुन्थ्यो भन्ने भावना मनमा जाग्यो।
सन् २०२२ मा भानु प्रतिष्ठानका सचिव श्री ऋषभदेव घिमिरेसँग क्यालिफोर्नियामा भेट हुँदा उहाँले प्रतिष्ठानले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यसपछि यहाँका साथीहरूसँग छलफलको क्रम अघि बढ्यो।
सन् २०२४ मा अनेसास नर्दर्न क्यालिफोर्नियाको नेतृत्व श्री बाबु आचार्यको टोलीले सम्हालेपछि यो अभियानले गति लियो। अनेसासका केन्द्रीय अध्यक्ष श्री सर्वज्ञ वाग्लेसँग पनि यस विषयमा सकारात्मक छलफल भयो। उहाँले यस कार्यलाई पूर्ण समर्थन जनाउँदै आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सन् २०२५ को भानु जयन्ती कार्यक्रममा मैले भानुभक्तको सालिक स्थापनाका लागि १०० अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेँ। साथै, आफ्नो जीवनभर भानु जयन्ती साहित्यिक प्रतियोगिताका लागि वार्षिक २०० डलरको स्थायी पुरस्कार स्थापना गर्ने घोषणा पनि गरेँ। सोही अवसरमा श्री सुरेश भट्टले पनि १०० डलर सहयोग गर्ने घोषणा गर्नुभयो। त्यसपछि समुदायको सहयोग र उत्साहले यो अभियानलाई थप बल पुग्यो।
आज क्यालिफोर्नियामा भानुभक्तको सालिक स्थापना हुनु सम्पूर्ण नेपाली समुदायका लागि गर्वको विषय बनेको छ। यो केवल एउटा सालिक स्थापना मात्र होइन, नेपाली भाषा, साहित्य, संस्कृति र पहिचानलाई भावी पुस्तासम्म हस्तान्तरण गर्ने ऐतिहासिक अभियान हो।
यस ऐतिहासिक कार्यलाई सफल बनाउन योगदान पुर्याउनुहुने अनेसास नर्दर्न क्यालिफोर्निया च्याप्टर, अनेसास केन्द्रीय कार्यसमिति, सम्पूर्ण सहयोगी दाताहरू, साहित्यकारहरू तथा नेपाली समुदायप्रति हार्दिक आभार व्यक्त गर्दछु। भानुभक्तको योगदानलाई जीवन्त राख्ने हाम्रो सामूहिक प्रयास आगामी पुस्ताका लागि प्रेरणाको स्रोत बनिरहोस् भन्ने शुभकामना व्यक्त गर्दछु।
