एनआरएनएमा राजनीतिकरण भयो, लायन्स क्लब यसबाट टाढा रहोस्: सभामुख अर्याल
काठमाडौं । सभामुख डोलप्रसाद (डिपी) अर्यालले गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापना कालमा पवित्र उद्देश्य बोकेर खोलिए पनि पछि त्यहाँ गलत राजनीतिकरण भएको भन्दै चिन्ता व्यक्त गरेका छन्। विदेशमा बस्ने तमाम नेपालीहरूलाई एकताबद्ध गर्ने उद्देश्यले स्थापना भएको एनआरएनएमा राजनीतिक प्रभाव बढेको उदाहरण दिँदै उनले लायन्स क्लबजस्ता विशुद्ध सामाजिक संस्थाहरू भने यस्तो राजनीतिक हस्तक्षेप र अवस्थाबाट सधैँ टाढा रहनुपर्नेमा जोड दिए।
लायन्स इन्टरनेसनल मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको वार्षिक महाधिवेशनलाई सम्बोधन गर्दै सभामुख अर्यालले विश्वमै उत्कृष्ट समाजसेवाका लागि परिचित लायन्स क्लबले आफ्नो मूल उद्देश्यलाई निरन्तरता दिँदै आएको उल्लेख गरे। उनले संस्थामा हालसम्म राजनीतिक प्रभाव नदेखिएको भन्दै आगामी दिनमा पनि यसको शुद्ध सामाजिक चरित्र कायम रहनुपर्ने बताए। संसारमै सेवाका लागि कहलिएको यो संस्थामा गलत राजनीतिको प्रवेश हुन नहुने र जसरी आजसम्म निस्वार्थ रूपमा चलिरहेको छ, भविष्यमा पनि त्यसैगरी निरन्तर रहनुपर्ने उनको भनाइ थियो।
यसका साथै सभामुख अर्यालले लायन्स क्लबका उत्कृष्ट सामाजिक गतिविधिलाई सञ्चारमाध्यमले अपेक्षाअनुसार प्राथमिकता नदिएकोमा गुनासो समेत गरे। देशका ७७ वटै जिल्लामा विभिन्न सामाजिक तथा सेवामूलक कार्यक्रम सञ्चालन गरिरहेको यस संस्थामा अग्रज, बौद्धिक र सफल नेपाली नागरिकहरूको आबद्धता रहेको उनले बताए। विगतमा सञ्चार क्षेत्रको आँखा पर्याप्त रूपमा नपरेकोमा आफ्नो गुनासो रहे पनि महाधिवेशनमा ठूलो संख्यामा सञ्चारकर्मीहरूको सक्रिय उपस्थिति देखेपछि आफू खुसी भएको र अब त्यस्तो गुनासो नगर्ने उनले प्रष्ट पारे। कार्यक्रममा बोल्दै उनले लायन्स क्लबमा आबद्ध भएर समाजसेवामा योगदान दिनु सहज नभएको उल्लेख गर्दै संस्थामा संलग्न सबै अभियन्ताहरूलाई धन्यवाद समेत ज्ञापन गरे।
