लण्डनस्थित नेपाली दूतावासमा मनाइयो ‘सगरमाथा दिवस’

१ घण्टा अगाडि

डायस्पोरा नेपाल

लण्डन  — लण्डनस्थित नेपाली दूतावासमा  बिहीबार “सगरमाथा: नेपालको पहिचान र गौरव” भन्ने नाराका साथ ‘एभरेस्ट डे’ विशेष कार्यक्रम आयोजना गरियो।

कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतको लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडीले नेपालले हरेक वर्ष मे २९ लाई सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीद्वारा सगरमाथाको पहिलो सफल आरोहणको सम्झनामा एभरेस्ट डेका रूपमा मनाउँदै आएको बताए।

उनले बेलायती पर्वतारोहीहरूको नेपाल र सगरमाथासँग लामो तथा ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै सगरमाथाको अन्तरराष्ट्रिय प्रचार, दिगो पर्यटन प्रवर्द्धन तथा नेपाल–बेलायत मित्रता सुदृढ बनाउन उनीहरूको योगदान महत्वपूर्ण रहेको बताए।

“हाम्रा हिमालहरू हाम्रो जीवनरेखा हुन्। हिमालय क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव अत्यन्त चिन्ताजनक छ,” दुवाडीले भने, “नेपालजस्ता हिमाली राष्ट्रहरूमा जलवायु परिवर्तनको असर कम गर्न अन्तरराष्ट्रिय समुदायले थप प्रभावकारी पहल गर्नुपर्छ।”

बीबीसीका विश्व वातावरण संवाददाता नविन सिंह खड्काले “जलवायु संकट र हिमालयको चुनौती” विषयमा प्रस्तुति दिँदै जलवायु परिवर्तनले हिमाली क्षेत्रलाई तीव्र रूपमा असर गरिरहेको बताए।

उनले विज्ञानले सुझाएका कदम र विश्वले गरिरहेको व्यवहारबीच ठूलो अन्तर रहेको उल्लेख गर्दै युद्ध, बढ्दो सैन्य बजेट तथा त्यसबाट उत्पन्न उत्सर्जनले जलवायु अभियान कमजोर बनाइरहेको टिप्पणी गरे। अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को एक अध्ययन उद्धृत गर्दै उनले सन् २००० यता हिन्दुकुश–हिमालय क्षेत्रका हिमनदीहरू दोब्बर गतिमा पग्लिरहेको बताए।

खड्काले हिमताल विस्फोटको जोखिम, बदलिँदो मनसुन, अत्यधिक वर्षा, हिमपातमा कमी तथा एभरेस्ट बेस क्याम्प आसपास बढ्दो वर्षाका कारण पर्वतारोहण थप जोखिमपूर्ण बन्दै गएको बताए। उनले जलवायु अनुकूलनका कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने र विकासशील मुलुकहरूका लागि पर्याप्त जलवायु वित्त आवश्यक रहेकोमा जोड दिए।

कार्यक्रममा चर्चित पर्वतारोही तथा एभरेस्ट आरोहीहरूले पनि आफ्नो अनुभव शेयर गरेका थिए।

सगरमाथा आरोहण गर्ने पहिलो बेलायती महिला रेबेका स्टेफेन्सले सगरमाथा आरोहणपछि मानिसहरू कुनै न कुनै रूपमा परिवर्तन भएर फर्कने बताइन्। उनले हिमालयको वातावरण र स्थानीय समुदायसँगको सम्बन्धले नेपालप्रति आफ्नो प्रेम अझ गहिरो बनाएको बताइन्।

उनले हिमालयन ट्रस्टमार्फत हिमाली क्षेत्रमा शिक्षा र आधारभूत स्वास्थ्य सेवामा सहयोग गरिरहेको जानकारी दिँदै हिमतालहरूको अवस्थाबारे अनुसन्धान तथा निगरानी भइरहेको बताइन्। “जब ठूलो वर्षा हुन्छ, मलाई हिमतालबारे चिन्ता लाग्छ,” उनले भनिन्।

त्यसैगरी, दुवै खुट्टा घुँडामाथिबाट गुमाएका पूर्व गोर्खा सैनिक तथा पर्वतारोही हरि बुढा मगरले आफूले विश्वका सातै महादेशका सर्वोच्च शिखर आरोहण गरेर अपाङ्गता भएका व्यक्तिहरूको क्षमता र अधिकारबारे जनचेतना फैलाउने प्रयास गरेको बताए।

“विश्वमा १.३ अर्ब अपाङ्गता भएका मानिस छन्। उचित सहयोग पाए उनीहरूले पनि असाधारण काम गर्न सक्छन्,” उनले भने। उनले नेपालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परिरहेको असरबारे विश्वलाई सचेत बनाउनु पर्ने बताउंदै विश्व शान्तिका लागि सबै मिलेर काम गर्नुपर्ने बताए।

कार्यक्रममा सात वर्षीय बालिका सुआज्ञा केसीले नृत्य प्रस्तुत गरेकी थिइन्।

नेपाली दूतावासका द्वितीय सचिव सञ्जोग राईले सञ्चालन गरेको कार्यक्रममा दुई दर्जनभन्दा बढी एभरेस्ट आरोहीहरूको सहभागिता रहेको थियो।

विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये ८ वटा नेपालमा रहेका छन्।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us