हिटवेभका बाबजुद लन्डनमा २४ औं गोर्खा कपको रौनक: ५७ टिमबीच प्रतिस्पर्धा, स्थानीय च्यारिटी र खेलाडी सम्मानित

१८ घण्टा अगाडि

डायस्पोरा नेपाल

लन्डनमा सबैभन्दा ठूलो नेपाली इभेन्ट ‘गोर्खा कप’ को २४ औं संस्करण झण्डै २० हजार दर्शकको उत्साहजनक उपस्थितिबीच भव्य रूपमा सम्पन्न भएको छ । अल्डरसटस्थित क्वीन्स एभिन्यू मैदानमा हिटवेभका बाबजुद बेलायतभरबाट ओर्लिएका दर्शकहरूका लागि यो केवल फुटबल प्रतियोगिता मात्र नभई खाना, च्यारिटी, आइसक्रिम, लत्ताकपडा आदि समेटिएका १२६ स्टल र बालबालिकाका लागि फन फेयरसहितको एउटा ठूलो उत्सव बनेको थियो । प्रतियोगितामा यसपटक कुल ५७ टिम (३९ मेन, १६ भेट्रान र २ महिला) ले प्रतिस्पर्धा गरेका थिए ।

मुख्य विधा (मेन क्याटगोरी) तर्फ राङभाङ समाज यूके विजेता बन्दै ३,५०० पाउण्ड नगद, शिल्ड, ट्रफी र सर्टिफिकेट हात पार्न सफल भयो भने गुरुजी एलिट उपविजेता बन्दै २,००० पाउण्डमा चित्त बुझाउन बाध्य भयो । यस विधामा राङभाङ समाजका साम गुरुङ उत्कृष्ट म्यानेजर, नेप्जुम एफसीका एनियोला अलामो टप स्कोरर र राङभाङकै न्वाङ शेर्पा प्लेयर अफ दि म्याच घोषित भए । त्यसैगरी, भेट्रानतर्फ एफसी ०४ ले विजेता बन्दै १,८०० पाउण्ड जित्यो भने उपविजेता प्लमस्टिड एफसीले १,२०० पाउण्ड प्राप्त गर्‍यो । भेट्रान विधातर्फ एफसी ०४ का सोम थापा उत्कृष्ट म्यानेजर, निशान्त गुरुङ टप स्कोरर र शेरजंग थापा प्लेयर अफ द म्याच बने । महिलातर्फको प्रतिस्पर्धामा तामाङ समाज एफसी विजेता बन्दै ६०० पाउण्ड र राउन्डबोल्ट एफसी उपविजेता बन्दै ४०० पाउण्ड पुरस्कार पाउन सफल भए, जहाँ तामाङ समाजकी सुक लामु तामाङ प्लेयर अफ द म्याच घोषित भइन् ।

तमुधिं यूकेका महासचिव डा. विशाल गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा विजेता खेलाडीहरुलाई रसमोर बरो काउन्सिलका मेयर क्यालुम स्टेवार्ट, तमुधिं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, एनआरएनए केन्द्रीय अध्यक्ष डा. हेमराज शर्मा, सैनिक सहचारी ब्रिगेडियर जनरल अनुप शाह लगायतका अतिथिहरूले पुरस्कार वितरण गरेका थिए । फाइनल खेलअघि मेयर स्टेवार्टले यस इभेन्टले स्थानीय व्यापार प्रवर्धन र समुदायबीच एकता बढाउन सघाएको भन्दै बधाई दिए भने आयोजक अध्यक्ष जुमकाजी गुरुङ र कार्यक्रम संयोजक क्याप्टेन दिपक घलेले इभेन्टलाई भव्य बनाउन सहयोग गर्ने र अपनत्व लिने सम्पूर्ण बेलायती नेपाली समुदायप्रति आभार व्यक्त गरे । सो अवसरमा तमुधिं यूकेले रसमोर बरो काउन्सिल र गोर्खा वेलफेयर ट्रष्टलाई जनही ५०० पाउण्ड सहयोग गर्नुका साथै युवा फुटबलर मेलिसा रेग्मी र डेनिस महर्जनलाई सम्मान समेत गरेको थियो । हिमालयन जेटको मुख्य प्रायोजन तथा विभिन्न स्थानीय व्यवसायहरूको सहयोगमा आयोजित उक्त कार्यक्रममा सयपत्री कल्चरल ग्रुपका बालबालिकाले आकर्षक नृत्य प्रस्तुत गरेका थिए भने बिहान ९ बजे सुरु भएको खेल बेलुका ९ बजे समापन भएको थियो ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us