रबी, बालेन सम्बन्ध र रास्वपाको भविष्य
काठमाडौं । नेपालको समसामयिक राजनीतिक परिदृश्यमा पछिल्ला महिनाहरुमा सबैभन्दा धेरै चर्चा हुने नाम मध्ये एक बनेका छन् प्रधानमन्त्री बालेन्द्र शाह। उनी स्वतन्त्र राजनीतिकर्मी हुँदै अहिले रास्वपाको वरिष्ठ नेता र संसदीय दलको नेताको हैसियतमा सत्ताको नेतृत्व गरिरहेका छन् ।
तर, प्रधानमन्त्री बालेनको कार्यशैली र संस्थागत राजनीतिक प्रक्रिया प्रतिको दृष्टिकोणले अहिले नयाँ बहस जन्माएको छ । उनी स्थापित संसदीय प्रणालीसँग समायोजन हुँदै अगाडि नबढेको भन्दै उनकै पार्टीकाले पनि आलोचना गरेका छन् । यसअघि प्रतिपक्षीमात्रै आलोचनमा थिए भने अब क्रमश पार्टीभित्रै विरोधका स्वरहरु सुनिन थालेका हुन् ।
रास्वपाकै कतिपय नेताहरुले समेत उनको आलोचना गरेका छन् । शाहको यस्तो प्रवृत्तिले आगामी दिनमा पार्टीलाई राजनीतिक रुपमा महँगो पर्न सक्ने चेतावनी उनीहरुको छ । राजपाका सांसद अमरेशकुमार सिंहले त यस्तो चेतावनी संसदको रोष्टमै उभिएर दिए । आफ्नै सांसदले संसदमै असन्तुष्टि व्यक्त गर्दै परम्परागत संसदीय अभ्यास कमजोर पार्ने प्रयासले लोकतान्त्रिक प्रणालीमै असर पर्न सक्ने बताएका छन् । संस्थागत प्रक्रियालाई चुनौती दिँदै प्रधानमन्त्री अघि बढ्दै गर्दा पार्टी सभापति रवि लामिछानेका लागि समेत चुनौती हुने राजनीतिक विश्लेषकहरु बताउँछन् ।
पार्टी भित्रका केही नेताहरुले बालेनको शैलीसँगको निकटता र राजनीतिक व्यवहारले दीर्घकालीन रुपमा पार्टीलाई चुनौतीपूर्ण अवस्थामा पुर्याउन सक्ने विश्लेषण गर्न थालेका छन् । संसदीय छलफलहरुमा सहभागी हुँदै अमरेश सिंहले बालेनको शैली प्रति असन्तुष्टि जनाउँदै संसदीय प्रणालीको औचित्य बारे प्रश्न नै उठाएका थिए ।
उनले संसदमा बोल्दै नयाँपनको नाममा सबै परम्परा भत्काउने प्रवृत्तिले अन्ततः लोकतान्त्रिक संरचना कमजोर बनाउने बताएका थिए । बालेनको लोकप्रियता परम्परागत राजनीतिक दल भन्दा बाहिरको नयाँ पुस्ताको असन्तुष्टिको प्रतिनिधित्व हो । तर यही लोकप्रियताले संस्थागत प्रक्रियालाई चुनौती दिन थालेपछि आलोचना पनि बढ्न थालेको छ । नेपालमा विगतका धेरै सरकारहरु दुई तिहाई वा बहुमतको शक्ति पाए पनि दीर्घकालीन स्थायित्व कायम गर्न नसकेको इतिहास छ ।
हालैको निर्वाचन पछि राष्ट्रिय स्वतन्त्र पार्टीको उदयलाई नेपाली राजनीतिमा नयाँ युगको संकेत भनेर व्याख्या गरिएको थियो । पार्टीका प्रमुख नेता रवि लामिछाने र बालिनको संयुक्त रुपमा ठूलो जनमत सिर्जना गरेको विश्लेषण छ । कतिपय मतदाताहरुले पार्टीको सिद्धान्त भन्दा पनि व्यक्तिगत लोकप्रियता युवा आकर्षण र परिवर्तनको आशालाई आधार बनाएर मत दिएको ठानिएको छ ।
बालेन शाहको शैलीलाई पूर्णरुपमा निरंकुश वा लोकतान्त्रिक भनेर वर्गीकरण गर्नु हतारो हुनेछ । यद्यपि उनको कार्यशैलीसँग प्रतिपक्षमा होइन उनकै पार्टीका नेताहरु समेत सन्तुष्ट हुन सकेको देखिदैन । बालेनको यस्तो शैलीले संसद पार्टी संरचना र नीतिनिर्माण प्रक्रियालाई बाइपास गर्दा त्यसले दीर्घकालमा लोकतान्त्रिक संस्थाहरु कमजोर बनाउने खतरा मात्र होइन पार्टी भित्र नेतृत्वलाई समेत कमजोर बनाउने पक्का छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी अहिले संगठन विस्तार र आन्तरिक संरचना मजबुत बनाउने चरणमा छ । तर यही समय पार्टी भित्र विभिन्न समूहहरु बीच दृष्टिकोण फरक देखिन थालेको छ । केही बालेन शाहसँगको राजनीतिक निकटता र लोकप्रिय छवि लाई अवसरका रुपमा हेर्ने गरेका छन् भने केहीले यसलाई जोखिमको रुपमा बुझिरहेको प्रष्ट छ । कतिपय नेताहरुले यदि यस्तो प्रवृत्ति लामो समयसम्म रह्यो भने पार्टीको संस्थागत स्थायित्वमा असर पर्न सक्ने ठम्याईमा छन् ।
आगामी दिनमा बालेन रवि समीकरणले सहकार्यको बाटो समाउँछ वा व्यक्तिगत शैली र संस्थागत संरचना बीचको दुरी बढ्दै जान्छ भन्ने विषय नै नेपालको राजनीतिक भविष्यका लागि महत्वपूर्ण बन्ने देखिन्छ ।
