पत्रकारितामा एआईको प्रयोगबारे भर्चुअल प्रशिक्षण सम्पन्न
लण्डन । ३३औँ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ युके शाखाले ‘पत्रकारितामा एआई: अवसर र चुनौती’ विषयक एकदिने भर्चुअल प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ।
प्रविधिको विकाससँगै पत्रकारितामा भित्रिएको कृत्रिम बौद्धिकता (एआई) लाई कसरी रचनात्मक र मर्यादित बनाउने भन्ने विषयमा कार्यक्रम केन्द्रित थियो।
नेपाल प्रेस इन्स्टिच्युटका प्रशिक्षक लिलाराज भट्टराईले तालिमको सहजीकरण गर्दै पत्रकारितामा एआईको प्रयोग गर्दा पारदर्शिता सबैभन्दा महत्त्वपूर्ण हुने बताए।
उनले एआईको सहयोगमा तयार पारिएका सामग्रीमा त्यसको स्पष्ट जानकारी दिनुपर्ने र कुन सम्पादकले सम्पादन गरेको हो भन्ने पनि उल्लेख गर्नुपर्नेमा जोड दिए।
उनले समाचार संकलन, लेखन र सम्पादनमा सहयोगी हुने विभिन्न आधुनिक एआई टुल्सबारे पत्रकारहरूलाई व्यावहारिक जानकारी दिएका थिए।

कार्यक्रममा प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष रामकृष्ण अधिकारीले नयाँ प्रविधिबारे समयसान्दर्भिक तालिम आयोजना भएकोमा खुसी व्यक्त गरे।
उनले पत्रकारहरू प्रविधिसँग डराउनु भन्दा पनि त्यसलाई पछ्याउँदै व्यावसायिकता कायम राख्नुपर्ने बताए। उनले हाल नेपाल सरकारले प्रेस स्वतन्त्रतामा गरेको संकुचनविरुद्ध महासंघले गरिरहेको प्रतिरोधबारे पनि जानकारी दिए।
विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना आदानप्रदान समेत गरिएको सो कार्यक्रममा बिबिसी नेपाली सेवाका पूर्व सञ्चालक तथा वरिष्ठ पत्रकार भगिरथ योगीले प्रेस स्वतन्त्रता पत्रकारका लागि मात्र नभई समग्र समुदाय र समाजको अधिकार रक्षाका लागि भएको बताए।

प्रशिक्षणमा संस्थापक अध्यक्ष नवीन पोख्रेल, पूर्वअध्यक्ष नरेश खपाङ्गी मगर, पूर्व वरिष्ठ उपाध्यक्ष श्याम लुइँटेल, शाखाका पदाधिकारी, सल्लाहकार र सक्रिय सदस्यहरूको उपस्थिति थियो।
साथै, युकेमा रहेर विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा स्थानीय सञ्चार माध्यममा आबद्ध पत्रकारहरूको समेत सहभागिता रहेको थियो।
