ओली र प्रचण्डबीच भेटवार्ता, होला त वाम एकता ?
काठमाडौँ । लामो समयको संवादहीनता चिर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बिहीबार भेटवार्ता भएको छ । पत्थरीको शल्यक्रियापछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा उपचार गराइरहनुभएका ओलीलाई भेट्न प्रचण्ड बिहीबार साँझ सवा ५ बजे अस्पताल पुग्नुभएको हो ।
अस्पतालमा करिब ३० मिनेट बिताउनुभएका प्रचण्डले ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना गर्नुभएको छ । एमाले सचिव पद्मा अर्यालले भेटको पुष्टि गर्दै भन्नुभयो, ‘उहाँ आउनुभएको हो, स्वास्थ्यलाभको कामना गर्नुभयो। थप विषयमा त मैले पनि बुझ्नुपर्छ ।’
एमाले र नेकपाबीच राजनीतिक सहकार्यको चर्चा चलिरहेका बेला भएको यो भेटलाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ । अस्पतालको शय्याबाटै सुरु भएको यो संवादले आगामी दिनमा वामपन्थी शक्तिहरूबीच नयाँ समीकरण बन्न सक्ने संकेत गरेको छ ।
स्रोतका अनुसार ओली र प्रचण्डबीचको संवाद आकस्मिक भने थिएन । यसअघि एमाले र नेकपाका केही दोस्रो तहका नेताहरूबीच भएको गृहकार्यपछि यो भेट सम्भव भएको दाबी गरिएको छ ।
प्रचण्ड टिचिङ पुग्नुअघि एमालेका दुई पदाधिकारीले ओलीको सन्देश लिएर नेकपाका शीर्ष नेताहरूलाई भेटेका थिए । नेकपा संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमसहितका नेताहरूसँग एमाले पदाधिकारीले करिब ४ घण्टा छलफल गरेका थिए ।
उक्त छलफल विशेषगरी आगामी दिनमा हुन सक्ने राजनीतिक सहकार्य र वामपन्थी एकताको एजेन्डामा केन्द्रित रहेको बताइएको छ । सोही छलफलको निरन्तरता स्वरूप आज (शुक्रबार) पनि एमालेका एक पदाधिकारीले प्रचण्डलाई भेटेर सहकार्यको मोडालिटीबारे थप कुराकानी गरेको स्रोतको भनाइ छ ।
एमाले र नेकपाका शीर्ष नेताहरूबीच संवादको ढोका खुलेसँगै कार्यकर्ता तहमा उत्साह देखिएको छ । यद्यपि, सहकार्यको स्वरूप कस्तो हुने र सत्ता समीकरणमा यसले कस्तो प्रभाव पार्ने भन्ने विषय अझै स्पष्ट भइसकेको छैन । अस्पतालको शिष्टाचार भेटबाट सुरु भएको यो सिलसिलाले वाम सहकार्यको ठोस रूप लिन्छ वा लिँदैन, त्यसका लागि भने केही दिन पर्खनुपर्ने देखिन्छ ।
