मध्यपूर्वका नेपालीको उद्धार र राहतका लागि एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच सहकार्य हुने

२ महिनाs अगाडि

डायस्पोरा नेपाल

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) र वैदेशिक रोजगार व्यवसायी संघबीच वैदेशिक रोजगारीका क्षेत्रमा रहेका साझा चुनौती र सहकार्यका विषयमा महत्वपूर्ण भेटघाट सम्पन्न भएको छ। विशेषगरी मध्यपूर्व क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमका कारण समस्यामा परेका नेपाली नागरिकहरूको उद्धार, राहत तथा प्रभावकारी समन्वयका विषयमा दुई संस्थाबीच विस्तृत छलफल भएको हो। भेटका क्रममा वैदेशिक रोजगार व्यवसायी संघले NRNA का नवनियुक्त पदाधिकारीहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेको थियो।

छलफलका क्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष भुवन गुरुङले मध्यपूर्वमा रहेका नेपालीहरूको अवस्था हाल अत्यन्तै संवेदनशील रहेको औंल्याउनुभयो। उहाँले नेपाली श्रमिकहरूको सुरक्षा र समयमै उद्धार सुनिश्चित गर्न दुवै संस्थाबीच एउटै स्वर र समन्वित प्रयास आवश्यक रहेकोमा जोड दिनुभयो। यस्तै, एनआरएनएका वरिष्ठ उपाध्यक्ष रोबिन शेरचनले संकट व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन NRNA भित्रै एउटा समर्पित संयन्त्र निर्माण गरिने जानकारी दिनुभयो। उहाँले विपद् वा संकटका बेला छिटो आपतकालीन उद्धार कार्य र सहयोग पुर्‍याउन संस्थागत सहकार्यको विकल्प नरहेको धारणा व्यक्त गर्नुभयो।

दुवै पक्षबीच भएको उक्त छलफलले विदेशमा संकटमा परेका नेपालीहरूको हित संरक्षणलाई मुख्य प्राथमिकतामा राख्दै संयुक्त रूपमा कार्य गर्ने प्रतिबद्धता जनाएको छ। वैदेशिक रोजगारीसँग सम्बन्धित साझा मुद्दाहरूमा सहकार्य गर्दै दीर्घकालीन र प्रभावकारी समाधान खोज्ने विषयमा समेत सहमति जुटेको छ।

उक्त महत्वपूर्ण भेटघाटमा संघका उपाध्यक्षहरू डा. ज्ञानेन्द्र रेग्मी, मनोज कुमार श्रेष्ठ, रोजिना प्रधान राई र चिन्तामणि सापकोटा, महासचिव चिरन्जीवी खड्का, सह-कोषाध्यक्ष गंगा खतिवडा, महिला संयोजक रश्मी थापा, महिला क्षेत्रीय संयोजक राधा सिग्देल ‘किरण’, यूरोप क्षेत्रीय संयोजक रोबर्ट लिम्बु, सचिव दीपेश खत्री, एनसीसी दक्षिण सुडानका अध्यक्ष रामप्रसाद पाध्य, एनसीसी साउदीका अध्यक्ष उमेश भट्टराई र कार्यकारी प्रमुख राजेन्द्र कुमार राउत लगायतको उपस्थिति रहेको थियो।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us