ब्रिटिश–गोर्खा भूतपूर्व सैनिक संगठनको दोस्रो चरणको आन्दोलन
बेलायत सरकारबाट अवकाश पाएका गोर्खा भूतपूर्व सैनिकलाई भएको विभेद अन्त्यको माग सरकारले सम्बोधन नगरेको भन्दै ब्रिटिश–गोर्खा भूतपूर्व सैनिक संगठनले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भुतपूर्व गोर्खा सैनिक संगठनले आफ्ना मागहरु सरकारले पूरा नगरेको भन्दै असार ३ गतेदेखि दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो।
पत्रकार सम्मेलनमा बोल्दै ब्रिटिश–गोर्खा भुतपूर्व सैनिक संगठन सिङ्गापुर गोर्खाज विभागका प्रमुख पलबहादुर घर्तीले असार ३ गते काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकामा शान्तिपूर्ण आन्दोलन गर्ने बताए।
उनले भुतपूर्व सैनिकहरुको माग सरकारले सम्बोधन गर्ने गरी बिरोध प्रदर्शन तथा बेलायती राजदूतावास अगाडि एक घण्टा धर्ना गर्ने कार्यक्रम तय भएको बताए।
प्रमुख घर्तीले राजदूतावासमार्फत बेलायती प्रधानमन्त्रीलाई ब्रिटिश–गोर्खा भुतपूर्व सैनिकका १६ बुँदे मागसहित ध्यानाकर्षण पत्र पुनः बुझाउने बताए।
उनले बेलायत सरकारलाई नेपाल सरकारले १६ बुँदे मागपत्र पूरा गर्न पहल नगरी बेवास्ता गरे भूतपूर्व गोर्खा सैनिक मानव अधिकार तथा जातीय विभेद सम्बन्धि अन्तर्राष्ट्रिय संस्थाको सहभागितामा देशव्यापी आन्दोलन गर्ने चेतावनी दिए।
प्रमुख घर्तीले सिङ्गापुर र बेलायत सरकारले सिङ्गापुर गोर्खामाथि गरेका जातीय विभेद मानव अधिकारको दृष्टिकोण अनुचित रहेकोसमेत बताए।