कोरोना नियम उल्लघंन : बेलायत प्रधानमन्त्री जोनसन र अर्थमन्त्री सुनकद्वारा पदबाट राजीनामा दिन अस्वीकार
लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसन र अर्थमन्त्री ऋषि सुनकले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि आफैले बनाएको नियम उल्लघंन गरेको प्रमाणित भएपनि पदबाट राजीनामा दिन भने अस्वीकार गरेका छन् । कोरोना नियन्त्रण गर्न बेलायतमा लकडाउन लगाइएको बेलामा बेलायती प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रिटमा पार्टी गरी नियम उल्लंघन गरेको प्रमाणित भएकाले बेलायती प्रधानमन्त्री जोनसन र अर्थ मन्त्री सुनकलाई प्रहरीले जरिवाना तिर्न भनेपछि पदबाट राजीनामा दिनु पर्ने दवाव बढेको हो ।
घटनाको अनुसन्धान गरिरहेको लण्डनको महानगरीय प्रहरीले जोन्सन र सुनकलाई जरिवानाको पत्र प्राप्त भएको प्रधानमन्त्री कार्यालयका प्रवक्ताले जानकारी दिएका छन ।
यद्यपी पत्र सार्वजनिक गरिउको छैन भने उनीहरुलाई कुन घटनामा दोषी पाइएको हो भन्ने खुलिसकेको छैन । प्रहरीले दर्जनौ पार्टीहरु अनुसन्धान गरिरहेको छ ।
बेलायतका विपक्षी राजनीतिक दलहरुले प्रधानमन्त्री र अर्थमन्त्रीले राजिनामा दिनु पर्ने मागलाई अघि बढाइरहेका छन् । प्रमुख प्रतिपक्षी लेबोर पार्टीका नेता स्टामर र लिबरल डेमोक्रयाटिक पार्टीका नेता सर एड डाभेले दुवै जनाले बेलायती जनतालाई ढाँटेकाले राजिनामा दिनुपर्ने भनाई सार्वजनिक गरिसकेका छन् ।