बेलायती प्रहरीद्वारा नेपालबाट अवैधानिक रुपमा भित्र्याइएका मुर्तिहरु नेपाललाई नै फिर्ता
लन्डन । बेलायतस्थित नेपाली राजदुत ज्ञानचन्द्र आचार्यलाई बेलायत सरकारका तर्फबाट प्रहरीले दुईवटा प्राचीन मूर्ति नेपाललाई हस्तान्तरण गरेको छ । ढुंगा तथा काठमा कुँदिएका मूर्तिहरु शुक्रबार लण्डन राजदुतावासमा राजदुत आचार्यलाई एक कार्यक्रम गरि हस्तान्तरण गरिएको हो । बेलायत प्रहरीका तर्फबाट डिटेक्टिभ सुपरिटेन्डेन्ट जोन रोचले राजदूत आचार्यलाई हस्तान्तरण गरेका थिए ।
१६ औं शताब्दीमा काठमा कुँदिएको कलात्मक तोरोणाको मुर्ति जुन १९८० देखि १९९० को दशक बीचमा काठमाडौंबाट हराएको थियो ।
यसैगरी १८ औं शताब्दीतिर कुँदिएको घुंडा टेकेर नमस्ते मुद्रामा रहेको ढुंगाको मूर्ति काठमाडौंबाटै हराएको थियो ।
अवैधानिक रुपमा मुर्ति ओसारपसार एवं खरिदबिक्री गर्ने समूहबाट बेलायती महानगरीय प्रहरीले उक्त मूर्ति बरामद गरेको बताएको छ ।
राजदूत ज्ञानचन्द्र आचार्यले हराएका प्राचीन सामग्री हस्तान्तरण गरेकामा बेलायत सरकार तथा प्रहरीलाई नेपाल सरकार र दूतावासको तर्फबाट धन्यवाद व्यक्त गरे । उनले यस्ता सहयोग भविष्यमा पनि निरन्तर रहनेअपेक्षा गरेको बताए । डिटेक्टिभ सुपरिटेन्डेन्ट जोन रोचले बरामद गरिएका प्राचिन सामग्रीहरु नेपाल सरकारलाई फिर्ता गर्न पाउँदा खुशी लागेको जनाए ।
हस्तान्तरण गरिएका मूर्ति चांडै नै नेपालको पुरातत्व विभागमा पठाउने व्यवस्था मिलाउने राजदूत आचार्यले बताए ।