अस्ट्रेलियासँगको सिरिज गुमाएपछि इंग्ल्याण्ड टिमका मुख्य प्रशिक्षक बर्खास्त
इंग्ल्याण्ड एन्ड वेल्स क्रिकेट बोर्ड (इसिबी) ले टिमको मुख्य प्रशिक्षक क्रिस सिल्भरउडलाई बर्खास्त गरेको छ । बोर्डले गत महिना सम्पन्न अस्ट्रेलियाविरुद्धको एसेज टेस्ट शृंखलामा लज्जास्पद हार बेहोरेको भन्दै सिल्भरउडलाई बर्खास्त गरेको हो ।
यसअघि बुधबार मात्र बोर्डले टेस्ट टोलीका प्रबन्धक निर्देशक एस्ले जाइल्सलाई पनि बर्खास्त गरेको थियो । इंग्ल्याण्डले एसेज टेस्ट शृंखला ४–० ले गुमाएको थियो । सो सिरिजमा सिल्भरउडको टोली छनोट र टोलीको ब्याटिङ क्षमतामा प्रश्न उठेको थियो ।
‘प्रशिक्षक रहँदा क्रिसले टोलीको सफलतामा ठूलो भूमिका खेलेका थिए, उनी राम्रो प्रशिक्षक हुन्,’ इसिबीका कार्यकारी प्रमुख टम ह्यारिसनले भने, ‘तर अस्ट्रेलिया भ्रमणमा टोलीले राम्रो नतिजा ल्याएन, हामी उनलाई आगामी यात्राका लागि शुभकामना दिन चाहन्छाैँ ।’
उनले अगाडि भनेका छन्, ‘सिल्भरउडकै प्रशिक्षणमा इग्ल्याण्डले टी–२० र एकदिवसीय क्रिकेटको विश्व वरियतामा पहिलो र दोस्रो स्थान हात पार्यो । टेस्टमा पनि हामी चौथो वरियतामा पुग्यौं, उनकै प्रशिक्षणमा हामीले दक्षिण अफ्रिका र श्रीलंका भ्रमणमा टेस्ट शृंखला जित्यौ । तर, हालका लागि एन्ड्रियु स्ट्राउसले अन्तरिम प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने छन् ।’
बर्खास्तपछि सिल्भरउडले इंग्ल्याण्ड टोलीमा बिताएको समय यादगार रहने बताएका छन् । ‘इग्ल्यान्डको प्रशिक्षकको जिम्मेवारी पाउनु आफैँमा गर्वको विषय थियो । म मेरा खेलाडी र प्रशिक्षण टोलीलाई विशेष धन्यवाद दिन चाहन्छु, इङ्ल्यान्ड टोलीसँगको क्षण मेरा लागि सधैँ यादगार रहनेछ,’ उनले भनेका छन् ।
सिल्भारउड सन् २०१९ अक्टोबरमा इङ्ल्यान्डको प्रशिक्षकमा नियुक्त भएका थिए ।