बंगलादेशी अभिनेत्रीको हत्या श्रीमानले गरेको खुलासा
काठमाडौँ । बंगलादेशको प्रहरीले फिल्म अभिनेत्री राइमा इस्लाम शिमुको हत्याको रहस्य प्लास्टिकको तारबाट भेटिएको सुरागको मद्दतले पत्ता लगाएको जनाएको छ । केही दिनदेखि बेपत्ता राइमा इस्लाम शिमुको शव राजधानी ढाकाको बाहिरी क्षेत्रमा फेला परेको थियो ।
ढाका प्रहरीले मंगलबार पत्रकार सम्मेलनमा राइमा इस्लामका श्रीमान् र उनलाई सहयोग गर्ने साथीलाई पक्राउ गरेको बताएको छ । ढाकाका जिल्ला प्रहरी उपरीक्षक मारुफ हुसेन सरदारले पारिवारिक कलहका कारण हत्या भएको बताए ।
उनले भने, ‘सोमबार राति मात्रै शव फेला परेपछि घटनास्थलमा गएका थियौँ । त्यहाँ शंका लागेपछि श्रीमान् र उनका एक साथीलाई सोधपुछ गर्यौँ । त्यहाँ भेटिएका प्रमाण र उनीहरुको संलग्नता रहेको प्रारम्भिक आशंकामा पक्राउ गरेका थियौँ ।’
मंगलबार राति बंगलादेश प्रहरीको न्युज वेबसाइटमा यो नरसंहार, शवको विसर्जन गर्ने प्रयास र हत्याकाण्डको रहस्य खुल्नेबारे विस्तृत जानकारी दिइएको थियो ।
प्रहरीले अभियुक्तको पहिचान कसरी गर्यो
प्रहरी समाचार नामको यो वेबसाइटमा २४ घण्टाभित्र प्रहरीले प्लास्टिकको तारबाट यो हत्याको रहस्य पत्ता लगाउने बाटो पत्ता लगाएको बताइएको छ । शवको पहिचानपछि प्रहरी प्रमाण जुटाउन नजिकै अभिनेत्रीको घर पुगेको थियो । त्यहाँ, अभिनेत्रीका श्रीमानको कारमा शव फाल्नका लागि दुईवटा बोरा टाँसिएको प्लास्टिकको तारको बन्डल फेला परेको थियो । गाडीलाई पानीले धुनुका साथै दुर्गन्ध हटाउन ब्लिचिङ पाउडर छर्किएको पाएको थियो ।
सोधपुछका क्रममा श्रीमानले हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । त्यसपछि उनका साथी पनि पक्राउ परेका थिए ।
हत्या गरी शव फाल्ने प्रयास
प्रहरी न्युजको वेबसाइटले आइतबार, जनवरी १६ मा बिहान ७-८ बजे अभिनेत्रीको घाँटी थिचेर हत्या भएको घटना भएको जनाएको छ । त्यसपछि श्रीमानले साथीलाई फोन गरेर बोलाएका थिए । प्रहरीको वेवसाइटमा थप लेखिएको छ, दुवै जनाले बाहिरबाट बोरा ल्याएर शवलाई त्यसमा हालेर प्लाष्टिकको तारले कसेका थिए । त्यसपछि उनीहरुले शवलाई गाडीमा राखेका थिए । पहिले उनीहरु मिरपुर तर्फ लागे तर उपयुक्त ठाउँ नभेटेपछि उनीहरु फेरि घर फर्किए ।
सोही दिन साँझ उनीहरुले फेरि ढाकाको मोहम्मदपुर इलाकाको बच्चिला पुलबाट गएर शवलाई किरानीगञ्जको हरतपुर युनियनको कदमतली क्षेत्रमा रहेको अलिपुर पुलबाट ३ सय मिटर टाढा सडक नजिकैको झाडीमा फालेका थिए । त्यति बेला रातिको साढे नौ बजिसकेको थियो ।
मृतक अभिनेत्रीकी बहिनी फातिमा निशाका अनुसार बहिनीको हत्या किन गरियो भन्ने बुझ्न नसेको बताएकी छन् । मेरी बहिनी र श्रीमानबीच त्यस्तो कुनै झगडा नभएको बताउदै उनीहरुको विवाह भएको १६ वर्ष भएको उनले बताएकी छन् ।
राइमा इस्लाम शिमु आफ्ना दुई छोराछोरी र श्रीमानसँग ढाकामा बस्दै आएकी थिइन् । आइतबार आफ्नो फोन स्वीच अफ भएको र घर नफर्केपछि शंका लागेको उनकी बहिनीले बताइन् । त्यसपछि उनले अस्पताल र प्रहरी चौकीमा उनीहरुको खोजी गर्न थालेका थिए ।
मंगलबार अपरिचित महिलाको शव फेला परेको थाहा पाएपछि उनले अस्पताल पुगेर शव पहिचान गरेकी थिइन् । फातिमा निशाले हत्या गर्ने जो कोहीले कारबाही हुनुपर्ने बताइन् ।
यसअघि सोमबार बिहान अभिनेत्रीका श्रीमानले पनि प्रहरीमा उजुरी दिएका थिए । जसमा उनले आइतबार बिहान आफ्नी श्रीमती कसैलाई खबर नगरी घरबाट निस्केको बताएका थिए ।
४१ वर्षीया राइमा इस्लामले सन् १९९८ मा आफ्नो फिल्मी करियर सुरु गरेकी थिइन् । उनले २५ भन्दा बढी चलचित्रमा अभिनय गरेका छन् ।