घिमिरेलाई न्यूजिल्याण्डको सिभिक अवार्ड
न्यूजिल्याण्डमा बसोवासरत नेपालीमूलका भुटानी नागरिक बल घिमिरेले स्थानीय काउन्सिलले प्रदान गर्ने सिभिक अवार्ड २०२१ प्राप्त गरेका छन् । घिमिरेले आफ्नो व्यस्त जागिरे जीवन बाबजुद सामाजिक कार्यमार्फत समुदायमा गरेको योगदानका लागि उक्त अवार्ड पाएका हुन् ।
न्यूजिल्याण्डमा भुटानी शरणार्थीलाई पुनर्स्थापना र बालबालिकालाई नेपाली भाषा सिकाउन उनको विशेष योगदान छ। पाल्मरस्टोन नर्थस्थित रेडक्रमको स्वयंसेवक भएर कयौं सामाजिक कार्यमा संलग्न उनले भुटानी शरणार्थीलाई स्थानीय समुदायमाझ समायोजन गर्न पनि उल्लेख्य भूमिका निर्वाह गरेका छन् ।
तेस्रो मुलुक पुनर्वास कार्यक्रम अन्तर्गत नेपालस्थित भुटानी शरणार्थी शिविरबाट पहिलो लटमा परिवारसहित सन् २००८ मा न्यूजिल्याण्ड आएका घिमिरेले पाल्मरस्टोन नर्थमा भुटानी समुदायलाई स्थापितमात्र गराएनन्, बालबालिकालाई नेपाली भाषा सिकाउन पनि तल्लीन रहे ।
घिमिरेले न्यूजिल्याण्डको शिक्षा मन्त्रालयबाट प्राप्त आर्थिक सहयोगमा मिल्सन स्कुलमा प्रत्येक आइतबार सञ्चालन गरिरहेको नेपाली भाषा तथा संस्कृति कक्षामा अहिले ६४ बालबालिका अध्ययनरत छन् ।
‘यो अवार्ड मेरो मात्र होइन्, समस्त समुदायको हो र यसले मलाई सामाजिक कार्यमा लाग्न अझ प्रेरित गरेको छ’, उनले अवार्डपछि खुशी हुँदै सेतोपाटीसँग भने ।
सन् १९९४ देखि न्यूजिल्याण्ड नआइन्जेल २००८ सम्म नेपालको भुटानी शरणार्थी शिविरमा शिक्षक भएर अध्यापन गराएका घिमिरेले सन् २००९ देखि न्यूजिल्याण्डमा थोरै बालबालिका लिएर नेपाली कक्षा पढाउन शुरु गरेका थिए ।
उनले त्यस अलवा मानावटु रिफ्यूजी भ्वाइस स्थापना गरि सन् २०११ सम्म संस्थाको अध्यक्ष भएर गहन जिम्मेवारी समेत सम्हाले । सन् २०१० मा भुटानिज सोसाइटी अफ न्यूजिल्याण्ड स्थापना गरि अध्यक्ष भएका उनले न्यूजिल्याण्ड नेशनल रिफ्यूजी नेटवर्कको सक्रिय सदस्य भएर विधान बनाउन पनि योगदान दिएका थिए ।
सन् २०११ मा रोजगारीका लागि अकल्याण्ड सरेका उनी सन् २०१६ मा पाल्मरस्टोन नर्थमा फर्किएर रेडक्रमको स्वयंसेवक र सवारी चालक प्रशिक्षक भएर काम गरे ।
सन् २०१७ मा उनले फेरि रंगीओरा कम्युनिटी सेन्टरमा प्रत्येक आइतबार बालबालिकाको नेपाली भाषा कक्षा पढाउन शुरु गरे । सन् २०१८ मा पाल्मरस्टोन नर्थमा भुटानी शरणार्थीहरुको पुनर्वासको दश वर्ष गांठका अवसरमा सिटी पुस्तकालयले नेपाली पुस्तक र साहित्यलाई आफ्नो ओभरसिज ल्यांगवेज सेक्सनमा राखेको थियो ।
सोही अवसरमा भुटानी समुदायले दुई वृहत कार्यक्रम गरि सरकारप्रति आभार व्यक्त गरेको थियो । सन् २०१९ मा बल सोसाइटीको अध्यक्ष निर्वाचित भएपछि उनकै सक्रियतामा टी मनवामा विश्वव्यापी भुटानी साहित्य सम्मेलन भयो जुन नेपाली साहित्य जगतमा एउटा ठूलो कार्यक्रम थियो । दुई वर्षमा हुने उक्त विश्व साहित्य सम्मेलन यसअघि नेपाल, नेब्रास्का र टेक्सासमा भएको थियो ।
बलको अग्रसरतामा सन् २०२० फेब्रुअरीमा सोसाइटीले तेन्जिङ हिलारी कप आयोजना गरि १० वटा नेपाली फुटबल टिमलाई सहभागी गराएको थियो ।