बेलायतमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ समुदायस्तरमा
लण्डन । बेलायतका स्वास्थ्यमन्त्री साजिद जाविदले कोरोनाको उत्परिवर्तित नयाँ भेरियन्ट ओमिक्रोन समुदायस्तरमा फैलिन लागेको बताएका छन । हवाइ यातायात मार्फत बेलायत भित्रिएको ठानिएको ओमिक्रोन भेरियन्टलाई नियन्त्रण गर्न बेलायत सरकारले बिभिन्न उपाय लगाएपनि समुदाय स्तरमा फैलिन सुरु गरेको स्वास्थ्यमन्त्री साजिदले बताएका हुन् । सरकारले आज मंगलबारबाट नाकामा कडाई गरेको हो । पिसिआर टेस्ट, होमक्वारिन्टीनलगायतका कडाइ गर्ने कानुन सरकारले संसदबाट जारी गरिसकेको छ ।
करीव एक सय ५० जना ओमिक्रोन संक्रमित बेलायतमा भेटिसकेका छन । यो तीव्र गतिमा फैलिने भाइरस भएको बताइन्छ । मन्त्री जाविदले सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालन गर्न र संक्रमण फैलिन नदिन आग्रह गरेका छन ।
ओमिक्रोन भेरियन्ट हालसम्म विश्वका ४० देशमा फैलिसकेको छ । पहिलो पटक कोरोनाको उत्परिवर्तित भेरियन्ट ओमिक्रोन दक्षिण अफ्रिकामा नोभम्बर २४ मा देखिएको थियो ।
दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको बी १.१.५२९ नाम दिएको यो भेरियन्टलाई नोभेम्बर २४ मा पहिलो पटक विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) मा रिपोर्ट गरेको थियो ।
डब्ल्यूएचओले २६ नोभेम्बेरमा यो भाइरसलाई ‘ओमिक्रोन भेरियन्ट’ भनेर नामकरण गरेको हो । यसलाई ‘भेरियन्ट अफ कन्सर्न’अन्तर्गत राखिएको छ ।