बेलायतमा प्रधानमन्त्री शेरवहादुर देउवाका ६ दिन !

२ वर्षs अगाडि

डायस्पोरा नेपाल


लण्डन । प्रधानमन्त्री शेरवहादुर देउवा संयुक्त अधिराज्यको ग्लास्गोमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिन गत शुक्रबार राजधानी लण्डन उत्रिए । नेपालबाट भएको उच्चस्तरको भ्रमणको मौका छोप्दै सरकारी स्तर र नेपाली समुदाय स्तरका संघसंस्थाहरुले आफ्नो माग र सुझाब राख्न समय पाएपछि उनको व्यस्त शनिवार विहानबाटै सुरु भयो । शुक्रबार देउवालाई लिन लण्डनस्थित राजदुतावासका कार्यवाहक राजदुत रोशन खनाल, दुतावासका कर्मचारी नेपालबाट आएका मन्त्रालय सचिवहरुलाई लिन हिथ्रो विमानस्थलको अतिविशष्टि कक्षमा पुगेका थिए । उनीहरु सँगै जनसम्पर्क समिति बेलायतका पदाधिकारीहरु थिए । शुक्रबार साँझ आराम गरेका प्रधानमन्त्री देउवाको शनिवार विहानबाटै भेटघाट बढ्न थाल्यो ।

शनिवार र आइतबार दिउँसो बेलायतस्थित बेलायत सरकारका मन्त्री, सांसद, कुटनीतिज्ञ र नेपाली समुदायसँग दिनभर भेटवार्ता र ज्ञापन पत्र बुझ्ने काममा प्रधानमन्त्री व्यस्त रहेका थिए । जनसम्पर्क समिति युके, एनआरएनए, पुर्व गोर्खा, यति नेपाली एसोसिएसन, नेपाली नागरिकता निरन्तरता, प्रवासी नेपाली एकता मंच युकेलगायतका दर्जनौ संघ संस्थाहरुले प्रधानमन्त्री देउवा सँग भेटघाट गरि बिभिन्न माग राखेका थिए । ति मागहरुलाई प्रचार प्रसार गर्ने पत्रकारहरुले भने प्रधानमन्त्री देउवासँग समय पाउन सकेनन् । नेपाल पत्रकार महासंघ युके दुई चिरामा बिभाजित भई बिपिन निरौला र ध्रुवराज अर्यालको नेतृत्वमा दुईवटा कार्यसमिति भएका कारण यसको साख निरन्तर घटिरहेको बेला महासंघ युकेको नेतृत्व लिएका दुवैले दुतावासमा पत्रकारहरुलाई प्रधानमन्त्री माँझ भ्रमणका बारेमा जिज्ञासा राख्ने हैसियत समेत जुटाउन सकेनन् । अधिकांश पत्रकारले व्यक्तिगत पहुचका आधारमा प्रधानमन्त्री देउवासँग भेटे ।
संघसंस्थाहरुले नेपाल सरकारलाई सुझाब समेत दिए । भेटघाटकै बिचमा दुतावासद्वारा उनको सम्मानमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले छोटो मन्तव्य दिदै नेपालमा लगानी भित्र्याउन गैरआवासीय नेपालीलाई विशेष अनुरोध गरे । उनले गैरआवासीय नेपालीलाई संविधानमा नै नागरिकताको बिषयमा समेटिएकाले संसदबाट चाडै पारित गरिने आश्वासन दिए । यसअघि नेपाली नागरिकता निरन्तरताका बिषयमा उनले संविधान विपरीत हुन नसक्ने जानकारी जनसम्पर्क समितिको कार्यक्रम मार्फत मन्तव्य सार्वजनिक गरिसकेका थिए । ज्ञापन पत्र र सुझाब लिन तथा दिने क्रममा प्रधानमन्त्री देउवासँग फोटो खिचाउनेको भिड लागेको थियो । बेलायतका लागि पुर्व राजदुत तथा परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दुर्गाबहादुर सुवेदीले बेलायतका केही व्यापारीलाई छानी छानी प्रधानमन्त्रीले आराम गर्ने कोठामा लगेर समेत भेट गराएको दृश्य दुतावासमा देखिएको थियो ।
यसबिचमा गैरआवासीय नेपाली संघ युके राज्य समन्वय परिषद् स्कटल्याण्डले देउवालाई सम्मान गरेको थियो । रोयल बोटानीकल गार्डेनमा रहेको नेपाली बगैँचामा बुधबार भोजपत्रको विरुवा वृक्षरोपण उनले गरेका थिए।

प्रम शेरबहादुर देउवा संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजित दुईदिने विश्व नेताहरूको शिखर सम्मेलनमा सहभागी भई बिहीबार स्वदेश फर्कनेक्रममा त्रिभुवन विमास्थलमा । तस्बिर रत्न श्रेष्ठ/रासस


यसैबिच, प्रधानमन्त्री देउवा यही नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिई बुधबार स्वदेश फर्किएका छन । प्रधानमन्त्री देउवा सो सम्मेलनमा भाग लिन यही अक्टोबर २९ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बेलायत आएका थिए । सम्मेलनको साइडलाइन बैठकमा बिभिन्न देशमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र उच्चपदस्थ कुटनीतिज्ञसँग उनले भेटवार्ता गरी द्धिपक्षीय हितका बिषयमा कुराकानी गरेका थिए ।
प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन तथा वातावरण मन्त्रालयका सचिव डा प्रेमनारायण कँडेल, अर्थमन्त्रालयका सचिव मधुकुमार मरासिनी, गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डे, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा माधवबहादुर कार्की सहभागी थिए ।

© 2022 All Right Reserved DiasporaNepal