मध्यपूर्वका श्रमिकका लागि पेन्सन फण्ड बनाउछु : अध्यक्ष पदका प्रत्यासी डा. केसी

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) अध्यक्ष पदका प्रत्यासी डा. बद्री केसीले मध्यपूर्वका मजदुरको समस्या समाधान गर्न विशेष योजना ल्याउने प्रतिवबद्धता व्यक्त गरेका छन । शुक्रबार आफ्नो नेतृत्वको टिमसहित भर्चुअल रुपमा उपस्थित अध्यक्ष पदका उम्मेदवार डा. केसीले मध्यपुर्वका डेलिगेट्स सँग अन्तरक्रिया गर्दै उक्त प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले एनआरएनए अभियानमा मध्यपुर्वले मुटुको भुमिका निर्वाह गरिरहेको भन्दै प्रसंसा गरे ।

रुसमा बसोवास गरिरहेका डा. केसीले एनआरएनए मध्यपुर्वले कोरोना संक्रमणका बेला नेपाललाई किट्स पठाएर गरेको सहयोगको स्मरण गर्दै मध्यपूर्व तथा मलेसियाका एनआरएनएकर्मीले नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका रहेको बताए । ‘कोरोना महामारीमा गाँस काटेर देशलाई अक्सिजन दिने मुटु हो एनआरएनए मध्यपूर्व,’ एनआरएनए मध्यपूर्वका अभियन्ताहरुलाई भर्चुअल रुपमा सम्बोधन गर्दै डा. केसीले भने, ‘संकटमा मध्यपुर्वले खेलेको भुमिका देशभित्र र बाहिर संसारकै नेपालीले बिर्सन सक्दैनन् ।’ वैदेशिक रोजगारीले नेपालको जीडीपीमा २५ प्रतिशत योगदान पुर्याएको र त्यसमध्ये ठूलो हिस्सा मध्यपूर्वका श्रमिकले धानिरहेको डा. केसीले बताए । ‘मध्यपूर्वका देशमा खटिएका नेपाली श्रमिकहरु नेपालका आर्थिक सिपाही हुन्,’ उनले भने ।

मध्यपूर्वमा पुग्ने सबैजसो नेपाली रहरले नभइ बाध्यताले पुगेका भन्दै उनले देशमा रोजगारीको अवसर सिर्जना गर्न सके तातो बालुवामा पसिना चुहाउनु नपर्ने बताए । ‘हामी जन्मेको देशभित्रै रोजगरी र अवसरको व्यवस्था भए ४० डिग्री माथिको तापक्रममा कोही घोटिनुपर्ने थिएन,’ उनले भने, ‘त्यसका लागि हामी अब जागरुक हुनैपर्छ । मध्यपुर्वमा सिकेका सिपलाई नेपालमै प्रयोग गरि रोजगारी सिर्जना गर्नुपर्छ ।’
मध्यपूर्वका बालुवाका थुप्रालाई हराभरा बनाउन ती देशमा पुगेका श्रमिकको दैनिकी निकै कठोरपूर्ण र कष्ठकर भएको जनाउंदै डा. केसीले दैनिक रोजगारीका लागि मध्यपूर्व तथा मलेसिया पुगेका नेपालीको दैनिक ३ देखि ४ वटा लास देश भित्र्ने अवस्था निकै दयनीय भएको बताए ।
अधिकांश नेपाली श्रमिकहरुले कमाएको पैसा घर खर्च र अनुत्पादक क्षेत्रमा लगानी गर्ने भएकाले बुढेसकालमा आर्थिक समस्या झेलिरहेकाले आफू पेन्सन फन्डको व्यवस्था गर्न लागिपरेको डा. केसीले बताए ।
१८ वर्षदेखि निरन्तर एनआरएनएमा आवद्ध डा केसी हालका उपाध्यक्ष हुन् । उनले एनआरएनएको महासचिव र कोषाध्यक्षका रुपमा काम गरिसकेका छन । हाल उनले रुस र युक्रेनमा उत्पादन तथा आयात–निर्यातसम्बन्धी व्यवसाय गर्दै अँएका छन् । त्यसका साथै केसीले नेपाली चियालाई रुसलगायत देशमा लगेर ब्रान्डिङ गर्दै आएका छन् ।

अध्ययनका लागि सन् १९९० मा रुस पुगेका केसीले सन् १९९६ मा बायोटेक्नोलोजी विषयमा स्नातकोत्तर उत्तीर्ण केसीले २००१ मा सोही विषयमा बिद्याबारिधी गरेका छन् ।
उक्त अन्तरक्रियामा डा. केसीको टिमसहित मध्यपुर्वका उम्मेदवारहरुले आ आफ्नो उम्मेदवारी र एजेण्डाका बारेमा जानकारी गराएका थिए । संघ महिला उपाध्यक्ष पदका उम्मेदवार यास्मिन वेगम ले संचालन गरेको भर्चुअल अन्तरक्रिया साढे ५ घण्टा चलेको थियो । डेलिगेट्सले उठाएका प्रश्नहरुको जवाफ डा. केसीले दिएका थिए ।

© 2022 All Right Reserved DiasporaNepal