यतीको अधिवेशन आगामी ५ फेब्रुअरीमा

१ वर्ष अगाडि

डायस्पोरा नेपाल

लन्डन । बेलायतस्थित नेपाली संस्था यती नेपाली एसोसिएसन यूकेको अधिवेशन आगामी ५ फेब्रुअरीमा हुने भएको छ । अधिवेशन तथा निर्वाचनबारे सोमबार लन्डनमा आयोजित पत्रकार सम्मेलनमा यती महासचिव डा. मुकुन्द बास्तोलाले जनाएका हुन ।

उनकाअनुसार जनवरी ३१ सांझ ५ बजेसम्म नयां सदस्यता लिन वा नवीकरण गर्न अनुरोध गरिने छ । इमेल, पोष्टल वा वेवसाइटमार्फत पनि नयां सदस्यता लिन वा नवीकरण गर्न सकिने एसोसिएसनले जनाएको छ ।

एसोसिएसनले निर्वाचन प्रक्रिया सम्पन्न गर्न यती पूर्व अध्यक्ष उमेशराज मोक्तानको संयोजकत्वमा राजुकमार त्रिपाठी र राजेन्द्र पुडासैनी सदस्य रहेको एक निर्वाचन समिति समेत गठन गरेको छ । एसोसिएसनले छिट्टै निर्वाचन पर्यवेक्षण समिति र सुपरिवेक्षण सल्लाहकार समिति समेत गठन गर्ने जनाइएको छ ।

निर्वाचन समितिका अनुसार प्रथम मतदाता नामावली प्रकाशन १ फेब्रुअरी २०२३ अपरान्ह ५ बजे, मतदाता नामावली उपर दावी विरोध २ फेब्रुअरी अपरान्ह ३ बजेसम्म, अन्तिम मतदाता नामावली प्रकाशन २ फेब्रुअरी अपरान्ह ५ बजेसम्म छ ।

उम्मेदवारी मनोनयन दर्ता ३ फेब्रुअरी दिउसो ३ बजेसम्म, उम्मेदवार उपर दावी विरोध ३ फेब्रुअरी अपरान्ह ५ बजेसम्म र उम्मेदवार नामावली प्रकाशन ३ फेब्रुअरी सांझ ७ बजेसम्म तोकिएको छ । त्यसैगरि, उम्मेदवारी मनोनयन फिर्ता ३ फेब्रुअरी राती ९ बजेसम्म र अन्तिम उम्मेवारी नामावली प्रकाशन ४ फेब्रुअरी बिहान १० बजे गरिने छ ।

निर्वाचन समिति संयोजक उमेशराज मोक्तानले निर्वाचन प्रकृया सुरु भैसकेको बताए । यती अध्यक्ष ध्रुव केसीले कोभिड महामारी लगायत कारणले आफ्नो कार्यसमितिले सोचे जस्तो कार्य गर्न नसकेको स्वीकार्दै नयां आउने टिमले सशक्त भएर लाग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा एनआरएनए उपमहासचिव रामशरण सिम्खडाले पछिल्लो समय यतीको सक्रियता खस्कंदै गएका बेला यसको ऐतिहासिक गरिमा ब्युंताउन सुझाव दिए । निर्वाचन समिति सदस्य आर के त्रिपाठीले यतीको सदस्यता विस्तार गर्न सुझाब दिए ।

© 2022 All Right Reserved DiasporaNepal