दिल्लीमा विद्यालयकी छात्रामाथि एसिड प्रहार
दिल्लीमा एक विद्यालयकी छात्रामाथि एसिड प्रहारको घटना सार्वजनिक भएको छ । दिल्ली प्रहरीका अनुसार यो घटना दिल्लीको द्वारका जिल्लाको हो । बिहान करिब नौ बजे एक युवकले छात्रामाथि एसिड प्रहार गरेका हुन् ।
छात्रालाई दिल्लीको सफदरजंग अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । दिल्ली प्रहरीले घटनाको समयमा छात्रा आफ्नी बहिनीसँगै रहेको बताएको छ ।
छात्राले यस विषयमा आफूले चिनेका दुई जनामाथि शंका व्यक्त गरेकी छन् । यस सम्बन्धमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
के छ बालिकाको अवस्था ?
बालिकाको अवस्था सामान्य रहेको बताइएको छ । दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालीवालले यस विषयमा केन्द्र सरकारमाथि प्रश्न उठाएकी छिन् ।
उनले ट्विट गर्दै लेखेकी छिन्, ‘द्वारका मोडनजिकै एक विद्यालयकी छात्रामाथि एसिड हानियो । पीडितलाई सहयोग गर्न हाम्रो टोली अस्पताल पुगिरहेको छ । छोरीलाई न्याय दिलाउनेछौँ । दिल्ली महिला आयोग देशमा एसिड प्रतिबन्ध लगाउन वर्षौंदेखि लडिरहेको छ । सरकारहरु कहिले जाग्ने ?’
यस विषयमा आफैँ ध्यानाकर्षण गर्दै राष्ट्रिय महिला आयोगले पनि आफ्नो टोली अस्पताल पठाउने निर्णय गरेको छ ।
छात्राका बुबाले समाचार एजेन्सी एएनआईसँगको कुराकानीमा भने, ‘मेरा दुबै छोरीहरु बिहान स्कुल गएका थिए । केही समयपछि मेरी सानी छोरी दौडिएर आइन् र दुईजना केटाहरु आएर दिदीमाथि एसिड खन्याएर गएको बताइन् । ती केटाहरूले आफ्नो अनुहार छोपेको पनि उनले बताइन् ।’
छोरीको अवस्था निकै नाजुक रहेको र दुवै आँखामा एसिड गएको उनले बताए ।
छात्राकी आमाले एएनआईलाई पनि आफ्नी कान्छी छोरीले घटनाबारे जानकारी गराएको बताएकी छन् । छोरीको आँखामा एसिड गएको उनले बताएकी छिन् ।