लण्डनमा राजेशपायलको धमाका

१ वर्ष अगाडि

डायस्पोरा नेपाल

‘राई इज किङ’को नामले परिचित गायक राजेशपायल राईको उपस्थितिले  बेलायतको अल्डरसटस्थित नेपालीद्वारा संचालित एम्पायर हल महामारीपछि सम्भवत: पहिलोपल्ट खचाखच भरियो । किरात राई यायोक्खा (किराया) बेलायतले शनिबार आयोजना गरेको राईको एकल सांगीतिक साँझमा उनले  पहिलोपटक बेलायतमा लाइभ ब्याण्डका साथ कन्सर्ट गरेका हुन् । करिब ८ सय दर्शहरुको उपस्थिति रहेको आयोजकले जनाएका छन् ।

गत जुलाईमा निर्धारित गरिएको उक्त सांगीतिक कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएका कारण दर्शकहरुले उनको लामो प्रतीक्षा गरेका थिए । दुईजना सुरक्षाकर्मीले राईलाई स्टेजतर्फ डोहोर्याउँदै गर्दा दर्शकहरुको भीडले उनलाई भव्य स्वागत गरेको थियो । राईको आगमनमा हलभित्र  प्रतिक्षारत रहेका उनका मातापितासमेत उत्साहित बनेका थिए ।

‘तपाईंहरुको सिटको बेल्ट बाँध्नुहोला,अब सांगीतिक यात्रा सुरु हुदैछ’ भन्दै ‘निष्ठुरीलाई मायाँ गरि…’ बोलको गीतबाट सांगीतिक पर्दा खोलेका राईले साँढे दुई घन्टासम्म आफ्ना दर्जनौं गीतमार्फत  दर्शकलाई नचाउँन सफल भए । दर्शन नमस्ते, म त मर्छु कि क्या हो, बैगुनी रेछौ जस्ता नयाँ पूराना विभिन्न खालका गीतले हल गुन्जायमान बनेको थियो ।

गायक राईलाई बेलायतका वाद्यवादकहरु लिड गिटारमा सुरज गुरूङ, बेसमा होइसर तामाङ, किबोर्डमा थिर थापा, तवलामा महेश गुरूङ, बाँसुरीमा इन्द्र गुरूङ, ढोलकमा रेशम पाचे, ड्रममा प्रभास गुरूङ र रिदममा विकल थापाले सघाएका थिए ।

कार्यक्राम्मा राईले सांगीतिक सौगातमात्र पस्केनन्, प्रवासमा रहंदा नेपाली कला, संस्कृति, गीत संगीतलाई निरन्तर माया गर्दै आफ्नो परम्परालाई नभुल्न सुझाव दिए । विभिन्न जातजाति र वर्गमा विभाजित हुने नेपालीहरुप्रति लक्षित गर्दै उनले सबै समूहलाई एकजुट हुन आग्रहसमेत गरेका छन् ।

आयोजक संस्था किराया बेलायत अध्यक्ष चन्द्रबहादुर राईले बेलायतभर छरिएर रहेका हरेक जातका नेपालीलाई एकै थलोमा एकत्रित गरेको भन्दै यो सामाजिक सद्भावको एउटा उत्कृष्ट नमुना पनि रहेको बताए ।

महासचिव चन्द्रवती राई एवं उपमहासचिव प्रमिला लाबुङ राईले सञ्चालन गरेको औपचारिक कार्यक्रममा अध्यक्ष राईले गायक र संगीतकर्मीहरुलाई स्वागत तथा सम्मान गरेका थिए ।

© 2022 All Right Reserved DiasporaNepal