बेलायतका गुल्मेलीहरु एक ठाउँमा भेला

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

तस्बिर : शिव भण्डारी
लण्डन । बेलायतस्थित गुल्मेलीहरुको बार्षिक भेला सम्पन्न भएको छ ।आइतबार फार्नबरोको स्यामुएल कोडी स्कुलमा समाजले आयोजना गरेको वार्षिक भेला सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम सहित सम्पन्न भएको हो ।
समाजका अध्यक्ष वीर बलालको अध्यक्षतामा आयोजित बार्षिक भेलामा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, अतिथिहरु एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगर, सल्लाहकार टाम ढेगा, पूर्व अध्यक्ष अर्जुन गौतम लगायतले शुभकामना दिएका थिए । कार्यक्रमको पूजारी निलहरी घिमिरेले मन्त्र बाचन गरी स्वस्ती शान्ति गर्दै दिप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।
कार्यक्रममा प्रथम नौमति बाजा गुल्मी यूके समूहको विशेष प्रस्तुति थियो ।त्यससबाहेक कार्यक्रमस्थलमा सहभागीले फरक फरक समूहमा एकैसाथ मौलिक गुल्मेली ठाडो भाका, झयाउरेदेखि रोइला, भजन र तीजगीतका नाचगानसम्म प्रस्तुत गरिरहँदा माहौल नेपालमय बनेको थियो।
सो अवसरमा आकर्षक ३ तोला सुनको उपहार पुरस्कार सहितको राफल ड्र, नेपालबाट भ्रमणमा आएका अभिभावकहरुको सम्मान लगायतका कार्यक्रम पनि सम्पन्न भएका छन् । कार्यक्रममा सांस्कृतिक सचिव माया केसी, सचिब मोहन घिमिरे राफल ड्रका लागि कोअर्डिनेटर तारा भट्टराई र प्रवक्ता राधा खरेल लगायतले अतिथि सत्कार एवम् संयोजन गरेका थिए ।

कार्यक्रममा गुल्मेली गायिका शन्तिरानी परियारले लोक गीत प्रस्तुत गरिन् । भेलामा लण्डन र आसपासका क्षेत्रहरुबाहेक बर्मिंगहम, नटिंगहम, लेस्टर, पिटरबरो, स्कटल्याण्ड लगायतका क्षेत्रबाट १५ सय गुल्मेलीहरुको सहभागिता भएका थिए । समाजका महासचिब रुद्र थापाले संचालन गरेको कार्यक्रममा समाजकी उपाध्यक्ष एवम् कार्यक्रम संयोजक मञ्जु भन्डारीको स्वागत मन्तव्य दिइन् । सन् २००७ मा स्थापित बेलायतका गुल्मेलीहरुको यो साझा संस्थाले मानवीय काम गरिरहेको छ ।

© 2022 All Right Reserved DiasporaNepal