नेपाली पत्रकारहरुले समय अनुकुल क्षमता विकास गर्नु पर्छ : राजदुत ज्ञानचन्द्र आचार्य
लण्डन । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले यहाँस्थित नेपाली पत्रकारहरुले समय अनुकुल क्षमता विकास गर्दै जाने विश्वास लिएको बताएका छन । आइतबार नेपाल पत्रकार महासंघ युकेले स्थापना भएको १० औं बार्षिकोत्सव बोल्दै उनले बदलिदो परिस्थिति अनुसार अवसर र चुनौती दुवै आउने भएकाले दुतावास सहकार्य गरि अघि बढन तयार रहेको जानकारी समेत दिए । उनले नेपाल बेलायतबीच सामाजिक, राजनीतिक, सांस्कृति तथा आर्थिक सम्बन्धहरु बिस्तारहरु बढ्दै गए पछि पत्रकारहरुलाई थप अवसर र चुनौती थपिएको बताए ।
कार्यक्रममा नेपाली दुतावास लण्डनकी उपनियोग प्रमुख रोशन खनालले नेपाल पत्रकार महासंघ यूकेलाई पत्रकारहरुको हकहित र समाजलाई सुसूचित गर्न क्रियासिल रहन आग्रह गरिन् । खनालले बेलायतमा नेपाली पत्रकारहरुको भूमिका सशक्त र प्रभावकारी रहेको भन्दै प्रशंसा गरिन् ।
नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा दिनप्रति दिन आर्थिक तर्फ उन्मुख भैरहेको अवस्थामा डलर एकाउन्ट खोलेर आर्थिक संकटमा विदेशमा बस्ने नेपालीहरुलाई सहयोगको लागि अपिल गरे । उनले नेपालमा लगानीका प्रसंस्त लगानीको सम्भवना रहेको बताउँदै बेलायत गरिने लगानी भन्दा नेपालको लागानीमा बढी प्रतिफल प्राप्त हुने बताए ।
उनले बेलायतमा रहेका नेपालीहरुले सामूहिक लगानीको अवधारणमा अघि बढेर नेपालमा लगानी गर्न आग्रह गरे । उनले नेपालमा विदेशी मुद्रा कमि भए पछि सरकारले डलर खाता खोल्न सुविधा दिएको चर्चा गरे ।
गैरआवासीय नेपाली संघका उपमहासचिव रामशरण सिमखडाले नेपाल पत्रकार महासंघ यूके शाखामा देखिएको विवाद अन्त्य भएको खुशी व्यक्त गरे । उनले ध्रुवराज अर्याल र विपिन निरौलाको नेतृत्वमा रहेको शाखाहरु एक भएर अतुलिनय काम गरेको बताउँदै पत्रकारहरुको संस्थाबाट गैरआवासीय नेपाली संघ पाठ सिक्नु पर्ने बताए । उनले संघभित्र देखिएका समस्याहरुको उचित निकास निकाल्नु पर्नेमा जोड दिए ।
समारोहमा संरक्षक, सल्लाहकार सम्मान, मिडिया सम्मान लगायत कार्यक्रम गरी पत्रकार महासंघ बेलायतले वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा बेलायतमा विगत १० वर्ष देखि सकृय ४ वटा मिडियाहरुलाई सम्मान गरिएको थियो ।
शाखाका अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा गैरआवासीय नेपाली संघ यूकेका उपाध्यक्ष नारायण कंडेल, पत्रकारहरु खगेन्द्र नेपाली, सुमन खरेल, नविनसिंह खड्का, दधि सापकोटा, प्रेस युनियन यूके उपाध्यक्ष एभ्रेष्ट गौतम, फोनिज यूकेकी अध्यक्ष गोमा राना, वरिष्ठ उपाध्यक्ष दिनेश परियार, उपाध्यक्ष शिव भण्डारी लगायतले शुभकामना दिएका थिए । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पठाएको शुभकामना सन्देश पढेर सुनाईएको थियो ।
बर्ष पत्रकारिता पुरस्कार रानाभाट र पोखरेललाई
नेपाल पत्रकार महासंघ युके शाखाले स्थापना गरेको बर्ष पत्रकारिता पुरस्कारबाट दुई पत्रकारलाई संयुक्त रुपमा दिइएको छ । वरिष्ठ पत्रकार भगीरथ योगीको संयोजकत्वमा गठित छनौट समितिले तयार गरेको सिफारिसका आधारमा पत्रकारद्वयलाई संयुक्त रुपमा दिइएको हो ।
पहिलो नम्बरमा पत्रकार खेमराज रानाभाट र दोस्रो नम्बरमा पत्रकार नविन पोखरेललाई मार्किङ गरी संयुक्त रुपमा दिने निर्णय गरेको छनौट समितिका तर्फबाट प्राध्यापक तेजेन्द्र फेरालीले जानकारी दिए । दुवै पत्रकारलाई राजदुत आचार्यले खादा र नगदसहित सम्मान गरेका थिए ।