स्पेनमा एनआरएनए अध्यक्ष कुल आचार्यलाई सम्मान
स्पेन । गैर आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुल आचार्यले गैर आवासीय अभियानमा भएका विगतमा भएका गल्ती कमजोरीलाई सच्याउदै साझा सँस्थाका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । एनआरएनए (राष्ट्रिय समन्वय परिषद) एनसीसी स्पेनले आइतबार आयोजना गरेको अन्तरक्रिया तथा सम्मान कार्यक्रममा अध्यक्ष आचार्यले एनआरएनएलाई डायस्पोराको उत्कष्ट संस्थाका रुपमा विकास गर्ने बताएका हुन् । संघको अध्यक्ष भएपछि पत्नीसहित पहिलो पटक युरोपियन मुलुक स्पेन पुगेका आचार्यले आफ्नो कार्यकाल मै उत्कृष्ट काम गरेर देखाउने जनाए ।
आफ्नो दोस्रो घर लाग्ने स्पेनमा पहिलो औचापरिक कार्यक्रममा सहभागी हुन पाएकोमा आचार्यले खुशी व्यक्त गरे । उनले परिवार पुनर्मिलनका सम्बन्धमा स्पेनमा बस्ने नेपाली समुदायले भोग्नुपरेको समस्याका बारेमा जानकार रहेकोले समस्या समाधानको लागि पहल गर्ने आश्वासन दिए । कार्यक्रममा पूर्व युरोप क्षेत्रीय उपसंयोजक मुक्त बहादुर गुरुङ, पूर्व अध्यक्ष अनिल गुरुङ, आइसीसी सदस्य दिनेश गिरी, नेपाली जन सम्पर्क समिति स्पेनका अध्यक्ष सन्तोष श्रेष्ठ, एनपिपिएफका अध्यक्ष विशाल ढुंगाना, पर्वत समाज स्पेनका अध्यक्ष दिनेशराज रेग्मी र नेपाली पाठशाला संचालिका सरला सापकोटाले आचार्यलाई कार्यकालको बधाई तथा शुभकामना दिएका थिए ।
स्पेनवासी नेपालीहरुले अध्यक्ष आचार्य समक्ष एनआरएनएको अबको लक्ष्य तथा संस्थामा देखिएका विवादका विषयमा जिज्ञासा समेत राखेका थिए । जवाफमा उनले सबैलाई मिलाएर अघि बढने कार्यक्रममा सहयोग गर्न सबैलाई आग्रह गरे । कार्यक्रममा समस्त स्पेनवासिका तर्फवाट अध्यक्ष आचार्यलाई बधाई तथा सम्मान गरिएको थियो ।
कार्यक्रममा संघका कार्यवाहक अध्यक्ष सोनु राउतको सभापतित्वमा सम्पन्न भएको थियो भने संस्थाका महासचिव विदुर गौतमले सञ्चालन गरेका थिए । कार्यक्रममा सचिव एनके भट्टराईले स्वागत गर्दै नवनिर्वाचीत पदाधिकारीले समस्त गैरआवासीय नेपालिको हकहितमा कार्य गर्नुपर्ने बताए ।