सुनसरीका बाढीपीडितलाई वितरण गरिएको राहतको बिषयमा शंका नगर्न अनुरोध
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले नेपालका बाढी प्रभावितहरुलाई वितरण गरिएको राहतको बिषयमा शंका नगर्न अनुरोध गरेको छ । कार्यसमितिको बैठकको निर्णय अनुसार नै
एनसीसी यूकेले सुनसरीका बाढी प्रभावितहरुलाई वितरण गरेकाले राहतको विषयमा कुनै शंका नगर्न तथा नकारात्मक टिप्पणी नगर्न सबैलाई अनुरोध गरेको प्रवक्ता भरतमणि चोङवाङद्वारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको हो ।
विज्ञप्ती
सुनसरीका बाढीपीडितलाई वितरण गरिएको राहतबारे एनसीसी यूकेको धारणा
बेमौसमी वर्षाका कारण आएको बाढी र पहिरोमा परी कात्तिक पहिलो साता नेपालमा जनधनको ठूलो क्षति भयो । कैयौं जीवन समाप्त भए । स्याहार्न लागेको धान बाढीले बगायो । यसको असर लाखौं किसानमा पर्यो । चाडवाडको समयमा आइपरेको विपत्तिले संसारभरका नेपालीलाई दुःखी बनायो ।
प्राकृतिक विपत्तिको समयमा सहयोग गर्नु गैरआवासीय नेपाली संघको चरित्र नै हो । सोही अनुसार राष्ट्रिय समन्वय परिषद् (एनसीसी) यूकेले सुनसरीका बाढी प्रभावितहरुलाई सहयोग गर्ने निर्णय गर्यो र सोही अनुसार काम अगाडि बढाइयो । तर, यस बारेमा केही सन्चारकर्मीले चासो व्यक्त गरेकाले एनसीसी यूकेका तर्फबाट सुनसरीमा वितरण गरिएको राहत सामग्रीका बारेमा स्पष्ट पार्न चाहन्छौं ।
१. अक्टोबर २४, २०२१ मा बसेको एनसीसी यूके कार्य समितिको बैठकले सुनसरीको इटहरी उपमहानगरपालिकाको वडा नम्बर १ र ३ मा बाढी प्रभावितहरुलाई राहत वितरण गर्ने निर्णय गर्यो । सोही अनुसार सो क्षेत्रका वास्तविक पीडितहरुको पहिचान गरी राहत सामग्री वितरण गर्न सो क्षेत्रका सामाजिक अभियन्ता तथा समावेसीहरुसँग सम्पर्क गर्न थालियो । बाढीको असर देशैभर परे पनि एनसीसी यूकेले सबै क्षेत्रमा राहत सहयोग पुर्याउन सक्ने अवस्था थिएन । त्यसैले पहिलो चरणमा सुनसरीको इटहरी उपमहानगरपालिका चयन गरिएको हो ।
२. राहतका लागि १० लाख रुपैयाँ सुनसरी पठाउने र सुनसरीका प्रतिष्ठित समाजसेवीहरुमार्फत वितरण गर्ने निर्णय भए अनुसार सुनसरीका समाजसेवी सिजन गुरुङसँगको समन्वयमा समाजसेवी सुरेन राईको बैंक खातामा रकम पठाइएको हो । पीडितलाइ छिटो भन्दा छिटो राहत पुगोस् भन्ने उद्देश्यले दोहोरोपन नहुने गरी स्थानीय सरकार तथा संघसंस्थासँग समन्वय गरी राहत वितरण भै रहेको जानकारी गराउन चाहन्छौं ।
३. बाढी प्रभावितहरुलाई प्रतिपरिवार २५ केजी चामल, एक प्याकेट नुन, एक प्याकेट दाल र एक प्याकेट तेल राहत स्वरुप प्रदान गरिएको छ । पीडित परिवारलाई घरसम्मै पुगेर राहत वितरण गरिएको छ । यसका लागि स्थानीय युवाहरुले सहयोग गरेका छन् ।
४. बाढी प्रभावितहरुलाई वितरण गरिएको राहत र त्यसको खर्च विवरण एनसीसी यूकेलाई उपलब्ध गराउन भनिएको छ । सामान ढुवानीदेखि यातायात व्यवस्थापनमा स्थानीय समाजसेवीहरुले नै सहयोग गर्नु भएको छ । एनसीसी यूकेको ब्यानरमा राहत हस्तान्तरण भै रहेको छ । एनसीसी यूकेद्वारा गरिएको राहत वितरणको सम्पूर्ण विवरण प्राप्त हुना साथ छिट्टै सार्वजनिक गरिने छ।
५. सुनसरीमा राहत वितरणको समयमा एनसीसी यूकेका चार पदाधिकारी नेपालमै हुनुहुन्थ्यो । व्यक्तिगत काम विशेषले नेपाल जानु भएका उपाध्यक्षहरु नारायण कँडेल, सुनीलबाबु खड्का, रामचन्द्र पोखरेल र सचिव ज्ञानेन्द्र आले मगरलाई पनि कार्य समितिका तर्फबाट राहत सामग्री वितरणको अनुगमन तथा जानकारी लिन आग्रह गरिएको थियो । उहाँहरुले पनि आ आफ्नो तर्फबाट बुझ्ने काम गर्नु भएको छ । तसर्थ, एनसीसी यूकेले सुनसरीका बाढी प्रभावितहरुलाई वितरण गरेको राहतका विषयमा कुनै शंका नगर्न तथा नकारात्मक टिप्पणी नगर्न सबैलाई अनुरोधसहित जानकारी गराइन्छ ।
भरतमणी चोङ्गबाङ्ग
प्रवक्ता
गैरआवासीय नेपाली संघ यूके
९ नोभेम्बर २०२१