राजदुत आचार्यले बेलायती महारानी समक्ष बुझाए ओहोदाको प्रमाण पत्र
लण्डन । बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले बेलायती महारानी समक्ष बिहिबार भर्चुअल रुपमा आफ्नो ओहोदाको प्रमाण पत्र प्रस्तुत गरेका छन ।बेलायतको राजदरबार बकिङघम प्यालेसमा आयोजित भर्चुअल कार्यक्रममा महारानी एलिजाबेथ समक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।
महारानीले विन्जर क्यासलबाट भर्चुअल रुपमा आचार्यको प्रमाण पत्र ग्रहण गर्दै राजदुतका रुपमा नियुक्त भएकोमा बधाई तथा शुभकामना दिइन् । राजदुत आचार्यले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश पनि महारानीलाई सुनाए । शन्देशमा उनीहरुले महारानीको सुस्वास्थ्यका साथै बेलायती जनताको उत्तरोत्तर प्रगति र सम्वृद्धिको कामना गरेको आचार्यले जानकारी गराए ।
उक्त अवसरमा महारानीले आफ्नो नेपाल भ्रमणको सम्झना गर्दै नेपाल र बेलायतबीच मैत्रीपूर्ण र आपसी सद्भावसहितको सम्बन्ध भएको जनाइन् ।
राजदुत आचार्यले नेपाल र बेलायतबीच २०० वर्षभन्दा लामो समयदेखि सम्बन्ध रहँदै आएकोमा हर्ष प्रकट गर्दै बेलायत सरकारलाई नेपालको सामाजिक आर्थिक विकासका साथै कोरोना भाइरसविरुद्धको लडाइँमा गरेको सहयोगप्रति आभार व्यक्त गरिन् । साथै महारानीलाई गद्दी आरोहरणको हीरक जयन्तीको शुभकामना पनि दिए ।
समारोहमा राजदुत आचार्य धर्मपत्नीसहित उपस्थित कार्यक्रममा उपस्थित थिए ।
राजदुताबासले उक्त समारोहपछि दुताबासमा विशेष रिसेप्सन कार्यक्रम गरेको थियो ।