बेलायत ओमिक्रोनविरुद्धको आपतकालिन युद्धमा छ- प्रधानमन्त्री जोनसन
लन्डन । बेलायतमा ओमिक्रोनको छाल तीव्र रुपमा बढेको भन्दै सबैलाई सजग रहन प्रधानमन्त्री बोरिस जोनसनले आह्वान गरेका छन् । ‘हामी नयाँ भेरियन्टविरुद्धको आपतकालिन युद्धमा छौं । यसबारे सबै सजग हुनु आवश्यक छ ।,’ उनले भने ।
ओमिक्रोनको नयाँ भेरियन्ट देखिएपछि कोभिडको सचेतना चौथो तहमा पुर्याइएका बेला प्रधानमन्त्रीको भनाई सार्वजनिक भएको हो । चौथो तहको अर्थ संक्रमणको दर उच्च भन्ने हुन्छ । पछिल्लो पटक मे महिनामा चौथो तह घोषणा गरिएको थियो ।
कोभिडबाट जोगिनका लागि दुई डोज खोप पर्याप्त नभएको भन्दै उनले बुस्टर डोज लगाउन आह्वान गरेका छन् ।
बेलायतले अर्को सातादेखि १८ वर्ष माथिका सबैलाई बुस्टर डोज दिने भएको छ । पछिल्लो समयमा बेलायतमा दैनिक संक्रमितको संख्या ५० हजार नाघेको छ । विज्ञहरुले आगामी पाँच महिनाभित्र बेलायतमा ७५ हजारको मृत्यु हुने चेतावनी दिँदै आएका छन् ।