बेलायतको आवागमन थप सहज : कोभिड टेष्टका नियम परिवर्तन
लण्डन । विदेशबाट बेलायतमा भित्रिने यात्रुहरुले कोरोना संक्रमण विरुद्धका दुवै डोज खोप लगाएको भए शुक्रबारदेखि कोभिड टेष्ट गर्नु नपर्ने भएको छ । बेलायत सरकारले शुक्रबार बिहान ४ बजेदेखि इङल्याण्डको यात्रा गर्नुपूर्व कोभिड टेष्ट गर्न पर्ने नियम खारेज गरेको हो । बेलायत आउँदा कोभिडको दुवै मात्रा खोप लगाएका १२ वर्षमाथिका सबै यात्रुहरुले इङल्याण्ड आउनु ४८ घण्टाभित्र पूर्व कोभिड नेगेटिभ भएको पुष्टि गरेपछि मात्र इङल्याण्ड प्रवेशन पाउने नियम थियो ।
बीबीसीका अनुसार प्रधानमन्त्री बोरिस जोन्सनले उडान पूर्व कोभिड टेष्ट गर्नुपर्ने नियमका कारण इङल्याण्ड आउन चाहनेहरुलाई निरुत्साहित गरेको भन्दै यात्रुहरुलाई सहज आवागमनको वातावरण बनाउन आग्रह गरेपछि उनले नयाँ यात्रा नियम लागु गरेका छन् । सो नियमपछि यात्रुहरुमा सजिलै बेलायत आउन पाउनेछन् । यद्यपी बेलायतमा दैनिक कोभिड संक्रमित संख्या बढिरहेको छ । बेलायतस्थित उड्डयन व्यवसायीहरुले सरकारको कडा नियमले कोभिड नियन्त्रण हुन नसकेको तथ्य प्रस्तुत गर्दै यात्रुहरुलाई आवागमन सहज गर्न अनुरोध गर्दै आएका थिए ।
यसैगरी, आगामी आइतबार बिहान ४ बजेदेखि इङल्याण्ड आइपुगेका यात्रुहरुले ल्याटरल फ्लो टेष्टमा पोजिटिभ भए पनि यदि कोभिडको लक्षण छैन भने पीसीआर टेष्ट पनि गरिरहनु नपर्ने भएको छ । उक्त प्रावधान इंग्ल्याण्डमा मात्र लागु गरिएको छ । नर्दन आयरल्याण्ड, वेल्स र स्कटल्याण्डमा भने फरक फरक प्रावधान छन् ।