बेलायतमा नर्स ल्याउने प्रक्रिया एक महिना भित्रै सुरु

३ वर्षs अगाडि

रासस

blank

Picture :BBC


लण्डन । नेपाली नर्सलाई बेलायतमा रोजगारीका लागि ल्याउने प्रक्रिया एक महिना भित्रै निर्णायक तहमा अघि बढने नेपाल सरकारले जनाएको छ । नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली नर्सलाई बेलायत पठाउने प्रक्रिया अघि बढाउन बेलायत सरकार सँग सहमति पत्रमा हस्ताक्षर गर्ने प्रक्रिया अघि बढेको हो ।
मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेका अनुसार एक महिनाभित्र नेपाल र बेलायत सरकारबीच नर्स लैजाने विषयमा सहमतिपत्रमा हस्ताक्षर हुन लागेको छ । उनले सो सम्झौता पश्चात मात्रै नेपाली नर्स रोजगारीको लागि बेलायत जाने बाटो खुल्ने बताए । ‘फ्रि भिसा फ्रि टिकट’मा पहिले दुई हजार नर्सलाई बेलायत पठाउने तयारी भइरहको प्रवक्ता घिमिरेले बताए ।

पुर्व मुख्यसचिव सोमलाल सुवेदीले नेपालबाट विदेशमा नर्स पठाउँदा विदेशी ज्ञान र सीपको विकास हुने भए पनि नेपालमा नर्सको वर्तमान अवस्था बुझेर मात्र निणर्य लिनुपर्ने बताए । सरकारले नेपालमा रहेका नर्सको वास्तविक तथ्याङ्क पहिचान गरेर मात्र विदेशमा नर्स पठाउने वा नपठाउने तय गर्नुपर्ने उनको भनाइ छ ।
नेपालमा अध्ययन गरेर पासआउट भएका नर्स नेपालमै टिकाउने गरी सरकारले वातावरण सिर्जना गर्न आवश्यक रहेको भन्दै उनले अहिलेको जस्तो अवस्था भइराख्ने हो भने नर्स विदेश पलायन हुने क्रम बढ्ने र यसले नेपालमा नर्सको अभाव सिर्जना हुने धारणा राखे ।

नेपालमा नर्सको सङ्ख्या ६७ हजार
नेपाल नर्सिङ परिषद्का अनुसार हाल नेपालमा नर्सको सङ्ख्या ६७ हजार छ । जसमध्ये लगभग २५ हजार विदेशमै छन् । नौ हजारजति सरकारी सेवामा कार्यरत छन् भने लगभग २० हजार निजी क्षेत्रमा आबद्ध छन् । बाँकी सबै बेरोजगारमा रहेको तथ्याङ्कले देखाएको छ । परिषद्का रजिस्ट्रार बिन्दा घिमिरे नेपालमा नर्सको उत्पादन भएअनुसार व्यववस्थापन हुन नसकेको बताउँछिन् । सरकारले नर्सको क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता रहेको उको भनाइ छ ।

‘नेपालमा पछिल्लो समय नर्सको सङ्ख्या बढ्दै गएको छ । सरकारले उनीहरुलाई देशमै टिकाएर राख्न विभिन्न अवसरको सिर्जना गर्नु जरुरी छ । अन्यथा नर्सहरु व्यक्तिगत रुपमा पनि बाहिरिने सम्भावना बढ्ने देखिन्छ,’ उनले भनिन् ।

नेपालका अस्पतालमा अहिले पनि आवश्यक मात्रामा नर्स नै नरहेको घिमिरेको भनाइ छ । ‘सामान्यतया एक डाक्टरले जनरल बेडमा पाँच जनालाई मात्र हेर्नसक्छ भने आइसीयूमा एक नर्स बराबर एक बिरामी भनिन्छ । तर, अहिले नेपालमा एक नर्सले ४० जनासम्म बिरामी हेर्नुपर्ने अवस्था छ’, उनले भनिन्। सरकारले नर्सलाई देशमै टिकाइराख्नका लागि विभिन्न अवसर दिनुपर्छ । सरकारले बेलाबेलामा लोकसेवा आयोगमा परीक्षामार्फत नर्सलाई देशमै टिकाइराख्ने वातावरण तयार गर्नुपर्ने उनको भनाइ छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us