प्रवासी नेपाली मंच युके अधिवेशन : अध्यक्षमा पाँच जनाको दावी
तस्बिर : शिव भण्डारी
लण्डन । प्रवासी नेपाली मंच (ओएनएफ) युकेको नेतृत्व दावी गर्दै पाँच जना प्रतिस्पर्धामा उत्रिने देखिएको छ ।
वर्तमान अध्यक्ष सुरेन्द्र थपलिया, वरिष्ठ उपाध्यक्ष तुंगभद्र भुसाल, वरिष्ठ उपाध्यक्ष सरस्वती केसी, नेता रविन्द्र कंडेल, र उपमहासचिव डा. मुकुन्द बास्तोला बिच प्रारम्भिक प्रतिस्पर्धा हुने देखिएको हो ।
आगामी सेप्टेम्बर ४ मा हुन लागेको अधिवेशन मार्फत नेतृत्वमा आउन पाँचै जनाले तयारी सुरु गरेका छन । त्यसका लागि सदस्यता बनाउने, पुराना तर निस्कृय रहेका सदस्यहरुलाई अद्यावधि गर्न लगाउने कार्य गरिरहेको स्रोतले बतायो । ओएनएफकाअनुसार पटक पटक गरि तीन पटक थप गरिएको म्यादमा २० जुलाईलाई अन्तिम समय सीमा राखिएको छ ।
अध्यक्ष थपलियाले साथीहरुको चाहाना बुझेर दोहोर्याउने बताए । वरिष्ठ उपाध्यक्ष भुसालले आगामी नेतृत्वका लागि आफु स्वभाविक दावेदार रहेको जनाए । उनले सम्पुर्ण साथीहरुको चाहानालाई समेटेर काम गर्न इच्छुक रहेको जनाए । अर्का नेता कंडेलले विगतमा पनि सहमतिका लागि त्याग गरेकाले यस पटक आफुलाई सबैले छाडनु पर्ने बताए । ‘मेरो योगदान र कामको अवश्य मुल्यांकन हुनेमा म ढुक्क छु’, उनले भने ।
अर्का वरिष्ठ उपाध्यक्ष सरस्वती केसीले अध्यक्षमा आफ्नो दावी स्वभाविक रहेको जनाइन् । नेपालदेखि बेलायतसम्म आफुले पार्टीमा गरेको योगदान नै नेतृत्वका लागि योग्य भएको दावी गरिन् । अर्थविद डा. मुकुन्द बास्तोला नेतृत्वमा पुस्तान्तरण आवश्यक रहेको जनाए । उनले संगठन निर्माण र चलायमान गर्न अन्तराष्ट्रिय कमिटि अध्यक्ष भक्त गुरुङ सँगै आफ्नो पनि योगदान रहेकाले नेतृत्वमा आफुलाई स्थापित गर्न सबैले सहयोग गर्नु पर्ने बताए । उनले भने नेतृत्वका लागि प्रतिस्पर्धा गर्न आफु तयार रहेको जानकारी दिए ।