प्रधानमन्त्री पदको दौडमा रहेका ऋषि सुनक बेलायतका लागि चीन सबैभन्दा ठूलो खतरा भएको बताए
एजेन्सी
प्रधानमन्त्री पदको दौडमा रहेका ब्रिटिस कन्जरभेटिभ पार्टीका नेता ऋषिसुनक बेलायतका लागि चीन सबैभन्दा ठूलो खतरा भएको बताएका छन् । सुनकले उनका प्रतिद्वन्दी लिज ट्रस चीनप्रति नरम रहेको आरोप लगाउँदै प्रधानमन्त्रीको पदभार सम्हालेको पहिलो दिनबाटै चीनविरुद्ध कठोर हुने बताएको छन् ।
सुनकले लिज ट्रस शिक्षा मन्त्री हुँदा चीनलाई बेलायतका विश्वविद्यालयहरूमा घुसपैठ गर्न सजिलो बनाएको बताए । समाचार एजेन्सी एएफपीका अनुसार ऋषि सुनकले आइतबार राति विदेश नीतिमा आफ्नो अडान स्पष्ट गर्दै चीन र चिनियाँ कम्युनिष्ट पार्टी लामो समयदेखि बेलायतका लागि ‘सबैभन्दा ठूलो खतरा’ रहेको बताए ।
चीनको कडा आलोचना गर्दै सुनकले आफू प्रधानमन्त्री भए बेलायतका विश्वविद्यालय र विद्यालयमा मन्डारिन भाषा पढाउने चिनियाँ कम्युनिष्ट पार्टीसँग आबद्ध सबै संस्था बन्द गर्ने प्रतिबद्धता जनाए ।
सुनकको टिमले सन् २०१२ देखि सन् २०१४ मा बेलायतको शिक्षा मन्त्री रहदाँ लिज ट्रस शिक्षाले देशमा चीनसम्बद्ध ३१ संस्थान खुलेको जोड दिए ।
‘धेरै लामो समयदेखि, बेलायत र पश्चिमका नेताहरूले रातो कार्पेट बिछ्याउँदै चीनको गलत गतिविधि र महत्वाकांक्षालाई आँखा चिम्लिए ,’ सुनकले भने । सुनकले आइतवार राती चीनको सामना गर्न नेटोजस्तै नयाँ गठबन्धनको लागि पनि आग्रह गरे ।
सुनकमाथि ट्रसको जवाफी हमला
तर, चीनकै विषयलाई समाएर वर्तमान सरकारमा परराष्ट्रमन्त्री रहेकी लिज ट्रसले पनि सुनक चीनप्रति नरम रहेको जवाफी आरोप लगाएकी छन् । ट्रसले सुनकको प्रधानमन्त्री पदको दाबीलाई चिनियाँ सरकारी मिडियाले समर्थन गरेकोसम्म भनेकी छन् ।
प्रधानमन्त्री पदको दौडमा संलग्न दुई उम्मेदवारबीच चीन बहसको नयाँ मुद्दा बनेर आएको छ । यसअघि पनि कर र आप्रवासीको विषयमा दुवै नेता आमनेसामने भइसकेका छन् ।
चिनियाँ सरकारी अंग्रेजी पत्रिका ग्लोबल टाइम्सले जुलाई १४ मा एक विश्लेषण छापेको थियो जसमा चीनसँग सन्तुलित सम्बन्ध विकास गर्न सुनकको दृष्टिकोण व्यावहारिक रहेको उल्लेख छ ।
सोही समाचारलाई उद्धृत गर्दै ट्रसका समर्थकहरूले अर्थमन्त्रीका रूपमा विगत दुई वर्षमा सुनकले चीनसँग आर्थिक सम्झौता बढाउन जोड दिएको र यसैले चीन उनीसँग नरम रहेको आरोप लगाउन थालेका छन् ।
बेलायतका विश्वविद्यालयहरूबाट चिनियाँ संस्थानहरू हटाउने वाचा गर्दै ऋषि सुनकले आफू प्रधानमन्त्री भए ३० भन्दा बढी कन्फ्युसियस संस्थान बन्द गराउने बताए । यी संस्थाहरू चिनियाँ कम्युनिष्ट पार्टीसँग आवद्ध रहेको बताइन्छ ।
सुनकले ब्रिटिस विश्वविद्यालयले पाउने ६० हजार डलरभन्दा बढीको वैदेशिक लगानीबारेमा जानकारी सार्वजनिक गर्नुपर्ने र अनुसन्धानका लागि भइरहेको साझेदारीको समीक्षा गर्ने पनि बताए ।
साइबर सुरक्षामा चिनियाँ हस्तक्षेपलाई औल्याउदैं सुनकले बेलायतको घरेलु जासुसी सस्था एमआई–५ लाई चिनियाँ जासुसीसँग लड्न प्रयोग गरिने बताए । उनले साइबर स्पेसमा चिनियाँ खतरासँग जुध्न नेटोजस्ता अन्तर्राष्ट्रिय सैन्य गठबन्धनो निर्माणमा पनि जोड दिए ।
सुनकले रणनीतिक रूपमा संवेदनशील प्राविधिक फर्महरू सहित प्रमुख ब्रिटिश सम्पत्तिहरूको चिनियाँ अधिग्रहणमा प्रतिबन्ध लगाउने मुद्दाको पनि अध्ययन गर्ने वाचा गरे ।