पिटरबरो नेपाली समाजले मनायो तीज
पिटरबरो नेपाली समाजले यहि १७ अगस्ट बुधबारका दिन तीज पार्टी सम्पन्न गरेको छ।
बिशुद्ध रुपले पिटरबरो र आसपासमा बस्नुहुने नेपाली दिदिबहिनीहरुलाई मनोरञ्जन र शुभकामना आदानप्रदान गर्न गराउनको लागि आयोजित उक्त कार्यक्रम गरिएको हो । उक्त कार्यक्रमको संचालन एकता भन्डारीले गरेका थिए । समाजका उपाध्यक्ष संगिता कोईरालाले कार्यक्रममा उपस्थित सम्पुर्ण दिदिबहिनी हरुलाई स्वागत गरिन ।
उपस्थित सम्पुर्ण दिदिबहिनीहरु लाई हरितालिका तिजको शुभकामना ब्यक्त गर्दै समाजका अध्यक्ष हरिहर भट्टराईले यस्ता नेपाली चाडपर्व हरुमा आयोजना गरिने कार्यक्रमहरुले नेपाली कला र संस्कृतिको जगेर्ना गर्नुका साथै हामी बिदेशमा बस्ने नेपाली हरुका आउँने पुस्ताहरुमा हाम्रो मौलिक परम्परा हस्तान्तरण हुँदै जाने बिस्वास ब्यक्त गरे ।
साथै पिटरबरोमा बसाई सरेर आउनुभएका नयाँ दिदिबहिनी हरु र उहाँहरुका परिवारलाई समाजको तर्फबाट पिटरबरोमा स्वागत पनि गरेको थियो ।
समाजका महासचिव कृष्ण लुइँटेलले आउँदो अक्टोबर ३ सोमबारका दिन समाजले विजयादशमी तथा दिपावलिको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने र सो कार्यक्रममा सकेसम्म राष्ट्रिय कलाकारहरु ल्याउने कुराको जानकारी गराए ।
दिदिबहिनीहरु सहभागी उक्त कार्यक्रममा एकता भन्डारी र सोनिशा भट्टराईले संयुक्त नृत्य प्रस्तुत गरेका थिए ।
दिदिबहिनीहरुका बिचमा खेलाईएको म्युजिकल चेयर खेल अत्यन्तै मनोरञ्जनात्मक रहेको कुरा कार्यक्रमका सहभागीहरुले बताए।
कार्यक्रममा राफेल चिट्ठा पनि खेलाईएको थियो।
सांझ ५:०० बजे सुरु भै राती १० बजे सम्म चलेको उक्त कार्यक्रममा उपस्थित दिदिबहिनी हरुले नाचगान गरि मनोरंजन गरेका थिए।
कार्यक्रम पिटरबरो टाउनमा रहेको गोर्खा दरबार रेस्टुरेन्टमा सम्पन्न भएको थियो।