पत्रकार महासंघ यूकेमा अर्याल र निरौलाबिच एकीकरण : ४ बुँदे सहमति

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank

संरक्षकमण्डल गठन

लण्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको गत जुन महिनामा सम्पन्न ५ औं महाधिवेशनपछि शाखामा देखिएका असन्तुष्टिहरुलाई समेट्दै एक सहमति पत्रमा हस्ताक्षेर भएको छ । नेपाल पत्रकार महासंघ बेलायतका महासचिव नरेन्द्र बस्नेतका अनुसार लामो छलफल पछि असन्तुष्ट पक्षका मागहरुलाई सम्बोधन गर्दै ४ बुँदे सहमति गरिएको हो ।

सहमति अनुसार शाखाको सल्लाहकारमा निवर्तमान महासचिव संजयभक्त कंडेल, निवर्तमान सचिव डा. जगन कार्की, एभ्रेष्ट गौतम, बिमला लिम्बु र कर्मा पहाडी शेर्पालाई मनोनय गरिने छ र सदस्यता नभएकाहरुको हकमा शाखाले प्रकृया पुरा गरेर सदस्यता प्रदान गर्ने छ । यस्तै नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष ध्रुवराज अर्याल र अर्का अध्यक्ष विपिन निरौला नेतृत्वको समितिबीचको मतभेद अन्त्य गरी सहमतिमा अगाडि बढ्ने ।

ध्रुवराज अर्याल नेतृत्वको कार्यसमितिलाई एकताबद्ध रुपमा सहयोग गर्ने र विपिन निरौला नेतृत्वका समितिका सबै गतिविधि बन्द गर्ने गरि दुई पक्षबीच सहमति भएको छ । सहमति अनुरुप विपिन निरौला शाखाको पूर्व अध्यक्षको मर्यादाक्रममा रहने छन् । शाखालाई अझ ओझिलो र गरिमामय बनाउन नेपाल पत्रकार महासंघ यूके, शाखामा एक संरक्षकमण्डल रहने छ । संरक्षकमण्डलमा नविन पोखरेल, चिरन शर्मा, नरेशखपांगी, विपिन निरौला, भगीरथ योगी, श्याम लुईटेल र बिमला सेने संरक्षकमण्डलमा रहने व्यवस्था गरिएको छ ।

शाखाका नवनियुक्त संरक्षक विपीन निरौलाले सानो समाजमा लामो समय विवाद गरेर बस्नु भन्दा सामाजिक एकता कायम गर्न उचित हुने भन्दै पछिल्लो सहमति गरिएको बताए । निरौलाले शाखासंग भएको पछिल्लो सहमतिलाई पूर्णरुपमा कार्यान्वयनमा जोड दिएका छन् । निरौलाले सहमतिले बेलायतमा रहेका सबै पत्रकारहरुलाई समेटेर शाखा एक साझा संस्थाको रुपमा स्थापित हुनेमा आफु विश्वस्थ रहेको बताए । सहमति अनुसार शाखालाई सवैको छाता संस्थाको लागि स्थापित गर्न शाखामा नयाँ सदस्यता तत्काल खुल्ला गर्ने र विपिन निरौलाको सिफारीसमा कम्तिमा सकृय पत्रकारिता गरिरहेका ६ जनालाई शाखाको नियम अनुरुप सदस्यता दिइने छ । कार्यसमितिमा खाली भएमा विपिन निरौलाको सिफारीशमा योग्यता पुगेका व्यक्ति मध्येबाट तीन जना सदस्यहरु थप्ने गरि सहमति गरिएको छ ।

पछिल्लो सहमतिको लागि आवश्यक गृहकार्य तथा सहजकर्ताको रुपमा सकृय नेपाल पत्रकार महासंघ बेलायतका पूर्वअध्यक्ष चिरन शर्मा, पूर्व बरिष्ठउपाध्यक्ष श्याम लुइटेल र महासचिव नरेन्द्र बस्नेत लगायतले उल्लेख्य भूमिका निर्वाह गरेका थिए । यसअघि शाखाको कार्यसमितिको बैठकले दुबै पक्षलाई सहमतिमा ल्याउन अध्यक्ष ध्रुवराज अर्याललाई विषेश अधिकार दिएको थियो ।

यसैबीच नेपाल पत्रकार महासंघ युकेले आगामी १० जुलाईमा लण्डनमा शाखाको १० औं स्थापना दिवस तथा साधारणसभा मनाउने तयारी गरेको छ । सो कार्यक्रमको लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको शाखाका महासचिव नरेन्द्र बस्नेतले जानकारी दिए ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us