नेपाल पत्रकार महासंघ युके शाखाद्वारा बार्षिकोत्वसको खर्च विवरण सार्वजनिक गर्न ढिलासुस्ती
फाइल फोटो
लण्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले स्थापना दिवस मनाएको दुई साता बितिसक्दा पनि आर्थिक विवरण सार्वजनिक गर्न सकेको छैन । संघसंस्थाहरुको आर्थिक पारदर्शिताका बारेमा प्रश्न उठाउने र समाचार लेख्ने पत्रकारहरुकै संस्था महासंघ बेलायत शाखाले आर्थिक विवरण सार्वजनिक गर्न नसक्नुलाई आश्चर्यजनक मानिएको हो ।
खर्च विवरण सार्वजनिक नगरिएको बारेमा जिज्ञासा राख्दा महासंघ युके शाखाका महासचिब नरेन्द्र बस्नेतले केही दिनमा औपचारिक रुपमा कार्यसमितिको बैठक बसेर खर्च विवरण सार्वजनिक गर्ने जानकारी दिए । ‘मैले व्यक्तिगत रुपमा झण्डै दुई हजार पाउण्ड खर्च गरेको रहेछु, अरु साथीहरुले को-को सँग कति उठाउनु भएको छ ? वा कुन प्रयोजनका लागि खर्च गर्न भएको छ ? नाम र रकमसहित सार्वजनिक गछौं’, महासचिव बस्नेतले आश्वस्त पार्दै भने ।
गत जुलाई १० ह्यारोमा नेपाल पत्रकार महासंघ युकेले स्थापना भएको १० औं बार्षिकोत्सव मनाएको थियो । उक्त कार्यक्रमका लागि संघसंस्था र व्यक्तिहरुबाट महासंघ युके शाखाले चन्दा रकम सकलन गरेको थियो । उक्त बार्षिकोत्वसमा विमोचित स्मारिकामा चन्दा दाताहरुको नाम र रकम समावेश गरिनु पर्नेमा त्यहाँ केही उल्लेख गरिएको थिएन् ।
बेलायतस्थित नेपाली राजदुत ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा स्थानीय संघसंस्थाहरु र समुदायका अगुवाहरुको बाक्लो उपस्थिति थियो ।