नेपाल पत्रकार महासंघ बेलायत शाखाको १२ औं वार्षिकोत्सव तथा च्यारिटी नाइट सम्पन्न 

१ वर्ष अगाडि

डायस्पोरा नेपाल

blank

लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाको १२ औं वार्षिकोत्सव तथा च्यारिटी नाइट बेलायतस्थित नेपाली समुदायको उत्साहजनक सहभागिता रहे पनि कमजोर र फितलो व्यवस्थापनका कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार बेलुका शाखा अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा अल्डरसटको एम्पायर ब्यांकेटिङमा आयोजित कार्यक्रममा सयौंको संख्यामा यहाँस्थित संघसंस्था तथा समुदायका प्रतिनिधि एवमं सञ्चारकर्मीहरुको सहभागिता रह्यो। तर कार्यक्रम र हल व्यवस्थापनको राम्रोसंग संयोजन नहुंदा अतिथिहरु निरास थिए ।

नेपाली पत्रकारको सीप तथा क्षमता अभिवृद्धिमा सहयोग गर्न कोष जुटाउने उद्धेश्यले च्यारिटी कार्यक्रम गरिएको भनिए पनि कार्यक्रममा सहभागीहरुले यो च्यारिटीको पैसा कता जान्छ भनेर प्रश्न गरिरहेका थिए । कार्यक्रममा उत्साहजनक रुपमा कोष संकलन भएको जनाउँदै शाखाले संकलित कोषको पूर्ण विवरण छिट्टै सार्वजनिक गरिने जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले सचेतक र मार्गदर्शकको रुपमा समाजमा पत्रकारहरुको महत्वपूर्ण भूमिका रहेको बताए। उनले प्रवासबाट प्रकाशित नेपाली संचारमाध्यमले नेपाली-नेपालीबीच सम्पर्क माध्यमको रुपमा, नेपाली डायस्पोराको गतिविधिबारे सूचना दिन र स्थानीय समुदायलाई नेपाली समुदायको बारेमा जानकारी दिएर महत्वपूर्ण सेवा दिइरहेको भन्दै प्रशंसा गरे।

राजदूत आचार्यले पत्रकारहरुलाई समाचारमा निस्पक्षता र विश्वसनीयता बढाउन आग्रह गर्दै संस्थागत विकासका लागि काम गर्न पनि सुझाव दिए। १२ औं वार्षिकोत्सवको अवसरमा नेपाल पत्रकार महासंघ यूके शाखालाई बधाई दिंदै शाखाको उत्तरोत्तर प्रगतिको कामना पनि गरे।

त्यस्तै, विशेष अतिथि महासंघका केन्द्रीय महासचिव रोसन पुरीले पत्रकार महासंघले आफ्नो स्थापना कालदेखि नै नेपालमा प्रेस स्वतन्त्रताको साथसाथै नागरिक हक बहाल गर्न अभियान चलाउंदै आएको स्मरण गरे। उनले महासंघका १० वटा वैदेशिक शाखाहरु हाल क्रियाशील रहेको र देश तथा विदेशमा गरी झन्डै १३ हजार सदस्यहरु रहेको जानकारी दिए।

महासचिव पुरीले महासंघका विदेशस्थित शाखाहरुले विदेशमा बसोबास गरिरहेका नेपाली समुदायलाई नेपालसंग जोड्ने काम गरिरहेको बताउंदै त्यसको लागि धन्यवाद पनि दिए। उनले एनआरएनएको नेतृत्वमा देखिएको विवादले केही मुलुकहरुमा पत्रकारहरुलाई पनि विभाजित गरेको भन्दै एनआरएन नेताहरुलाई प्रवासी नेपाली समुदायलाई एकजुट गर्न मिलेर जान सुझाव दिए। उनले नेपाल पत्रकार महासंघ यूकेले नेपालमा दुख मर्कामा परेका पत्रकारहरुका लागि आर्थिक सहयोग गरेको भन्दै पत्रकारहरुको क्षमता अभिवृद्धिमा सघाउन च्यारिटी कार्यक्रम आयोजना गरेकोमा धन्यवाद पनि दिए।

खपांगीमगर पुरस्कृत

सो अवसरमा एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार २०२३ बाट शाखाका पूर्वअध्यक्ष समेत रहेका वीनेपाली डटकमका सम्पादक नरेश खपांगीमगरलाई पुरस्कृत गरियो । बेलायतमा खोजी पत्रकारितालाई प्रोत्साहन गर्ने लक्ष्यसहित स्थापित उक्त पुरस्कारको राशी ५ सय २ पाउण्ड छ ।

कार्यक्रममा लोकप्रिय गायक धिरज राई, दोहोरी गायक श्याम राना, नानु गुरुङ, सितु खरेल, सपनकुमार राई, आयुदीप गौतम लगायतले सांगीतिक प्रस्तुति गरेका थिए । त्यस्तै, मिसेस यूके नेपालकी विमला बुढाथोकीले आकर्षक नृत्य देखाएकी थिइन्।

वार्षिकोत्सव तथा च्यारिटी नाइट सफल पार्न कार्यक्रममा सहभागी हुने संघसंस्थाका प्रतिनिधि, समाजसेवी तथा विभिन्न रुपमा योगदान गर्ने सहयोगदाता, कलाकार, सहयोगी सबैमा शाखाले धन्यवाद ज्ञापन गरेको छ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us