एनआरएनए विवाद : नाटकीय सहमति नभए भोली उम्मेदवारी दर्ता प्रक्रिया प्रारम्भ
लण्डन । गैरआवासीय नेपाली संघ विवाद समाधानका लागि नाटकीय सहमति नभएमा भोली शनिवार उम्मेदवारी दर्ता प्रक्रिया प्रारम्भ हुनेछ ।
प्रमुख निर्वाचन आयुक्त अधिवक्ता लीलामणि पौडेल सार्वजनिक गरेको कार्यतालिका परिवर्तनको नाटकीय सहमति भएन भने शनिवार निर्वाचन प्रक्रिया मध्यको महत्वपुर्ण पाटो उम्मेदवारी दर्ता प्रक्रिया प्रारम्भ हुने भएको हो । निर्वाचन कार्यक्रमअनुसार मतदाता नामावली प्रकाशन डिसेम्बर ६ तारिखमा , मतदाता नामावलीमाथि दाबीविरोध डिसेम्बर ७ तारिखमा, दाबी विरोधमाथि छानविन डिसेम्बर ९ तारिखमा गरी आज शुक्रबार डिसेम्बर १० मा अन्तिम मतदाता नामावली प्रकाशन प्रकाशित हुदैछ ।
कार्यतालिका अनुसार भोली शनिवार र आइतवार डिसेम्बर ११ र १२ मा उम्मेदवारको मनोनयन दाखिला गर्ने, डिसेम्बर १२ मा उम्मेदवारको पहिलो नामावली प्रकाशन गर्ने कार्य हुनेछ । संघको १० औं महाधिवेशनमा अध्यक्षका प्रत्यासीहरु टिम बद्री केसी, टिम कुल आचार्य र टिम रवीना थापाका नाममा विभाजित रहेको विवादलाई समाधान गर्न उच्चस्तरीय वार्ताहरु जारी रहेको एनआरएनए स्रोतले बताएको छ । ”आज नाटकीय सहमति भएन भने भोलीदेखि निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारहरुले निर्वाचनमा भाग लिदै उम्मेदवारी दर्ता गर्नेछन,” एक पदाधिकारीले भने, ”यसबिचमा संस्थाभित्रको विवाद मिलाउने प्रयास भैरहेको छ । त्यो भनेको फेरी पनि निर्वाचन कार्यतालिका संशोधन वा परिमार्जन नै हो ।”
यसबिचमा डेलिगेट्स विवाद रहेका बेलायत, अष्ट्रेलिया, अमेरिका र जापानको समस्या समाधान गर्न अध्यक्ष स्वयं कुमार पन्तले अध्यक्ष पदका प्रत्यासीहरु डा. बद्री केसी, कुल आचार्य र रवीना थापा सँग निरन्तर वार्ता गरेको जनाएका छन ।
भोली उम्मेदवारी दर्ता गर्नेहरुको डिसेम्बर १३ मा उम्मेदवारीमाथि दाबी विरोध, डिसेम्बर १४ मा मनोनयन पत्र जाँच र दाबीविरोध माथि छानविन गरी डिसेम्बर १५ मा उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिने कार्यक्रम छ । त्यसपछि डिसेम्बर १७ का दिन उम्मेदवारलाई उम्मेदवारी फिर्ता गर्ने मौका दिइनेछ भने डिसेम्बर १८ तारिखका दिन अन्तिम उम्मेदवारको नामावली प्रकाशन हुनेछ।
मतदान डिसेम्बर २६ नेपाली समयअनुसार बिहान ८ बजेदेखि भोलिपल्ट बिहान ७ बजेर ५९ मिनेट जाँदासम्म गर्न पाइनेछ ।
निर्वाचन समितिका अनुसार संघको निर्वाचनमा उम्मेदवारी दिनका लागि अध्यक्षका लागि १० लाख, उपाध्यक्षका लागि ७ लाख, महासचिवका लागि ६ लाख, सचिव र कोषाध्यक्षका लागि ५ लाख, सहकोषाध्यक्षका लागि ४ लाख ५० हजार, महिला, युवा तथा क्षेत्रीय संयोजकहरुका लागि ३ लाख ५० हजार, क्षेत्रीय, महिला तथा युवा उपसंयोजकका लागि २ लाख ५० हजार रुपियाँ उम्मेदवारी शुल्क तोकिएको छ ।
संघको केन्द्रीय पदाधिकारीको लागि ५० भन्दा बढी पदमा निर्वाचन हुने बताएको छ । प्रमुख निर्वाचन आयुक्त अधिवक्ता लीलामणि पौडेलको हस्ताक्षर रहेको सो निर्वाचन कार्यक्रमअनुसार मतदाता नामावली प्रकाशन डिसेम्बर ६ तारिखमा , मतदाता नामावलीमाथि दाबीविरोध डिसेम्बर ७ तारिखमा, दाबी विरोधमाथि छानविन डिसेम्बर ९ तारिखमा गरी डिसेम्बर १० मा अन्तिम मतदाता नामावली प्रकाशन हुदैछ ।
मतदान डिसेम्बर २६ नेपाली समयअनुसार बिहान ८ बजेदेखि भोलिपल्ट बिहान ७ बजेर ५९ मिनेट जाँदासम्म गर्न पाइनेछ ।