एनआरएनए विवाद : कुमार पन्त र डा. शेष घले विच भेटवार्ता
काठमाडौँ । गैर आवासीय नेपाली संघका प्रमुख संरक्षक शेष घले र संघ अध्यक्ष कुमार पन्तबिच संस्था भित्रका विवादका बिषयमा वार्ता भएको छ । अध्यक्ष पन्त र घलेको आइतबार ललितपुरको एक होटलमा भेटवार्ता भएको हो।
उक्त भेटघाटका लागि संघका केन्द्रीय सल्लाहकार कुल आचार्यले संयोजनकारी भुमिका निर्वाह गरेका थिए । परराष्ट्र मन्त्रालयले अध्यक्ष पन्तलाई बर्खास्त गरि एनआरएनएको निर्वाचन गराउने जिम्मा डा घलेलाई दिएपछि पन्त उच्च अदालत गएका थिए । त्यसपछि दुवै विच तिक्तता रहेको थियो ।
जिएनएनका अनुसार आचार्यले उक्त भेटवार्तामा घले र पन्तसहित संस्थापक अध्यक्ष उपेन्द्र महतो र पूर्व अध्यक्ष जिबा लामिछानेलाई पनि उक्त बैठकमा निम्तो गरेका थिए ।
आचार्यको निम्तो स्वीकार गरेर भेला भएका वर्तमान तथा पूर्व अध्यक्षहरुले झन्डै ३ घण्टा वर्तमान परिस्थिति, अबको निकास र सहमतिको सम्भावना लगायतका विषयमा छलफल गरेका थिए।
‘यो बैठक कुनै टुंगोमा त पुग्न सकेन, तर ‘आइस ब्रेक’ भने भएको छ’, बैठकमा सहभागी एक जनाले भने । एनआरएनए भित्रको विवाद समाधान गर्न संरक्षक परिषदले पनि समन्वय गर्नु पर्नेमा सहभागीहरुले जोड दिएका थिए ।