एनआरएनए भेलाको निष्कर्ष : संकट समाधान गर्न संरक्षक परिषद अग्रसर हनुपर्छ

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank
blank

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी अन्तरराष्ट्रिय भेला संयोजक बुद्धिसागर सुवेदीले विधान अनुसार भेला गरिएका बताएका छन । मंगलबार भर्चुअल रुपमा भेलाको निष्कर्ष सुनाउन गरिएको पत्रकार सम्मेलनमा उनले विधान अनुसार नै एनसीसीहरुले स्वत काम गरेको बताएका हुन । पत्रकार सम्मेलनमा उनले ६५ प्रतिशत डेलिगेट्स छान्ने प्रक्रियामा एनसीसीहरुलाई स्वायत्त अधिकार हुन पर्ने प्रमुख माग गरेको जनाए । उक्त माग पुरा नभए आगामी दिनमा नवनिर्वाचित अन्तरराष्ट्रिय समन्वय परिषद् (आइसीसी) सदस्यहरु समेटेर अर्को भेला डाक्ने तयारी भएको जनाए ।

प्रेस विज्ञप्ति

आदरणीय पत्रकार मित्रहरु,

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्हरुको पहिलो ऐतिहासिक विश्व भेला भर्चुएल माध्यमबाट   २४ अक्टोबर २०२१ मा सम्पन्न भएको छ।  भेलामा संघका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरुका निर्वाचन भएकामध्ये ८० प्रतिशत भन्दा बढी एनसीसी अध्यक्ष तथा पदाधिकारीहरुको सक्रिय सहभागिता रहेको थियो।  पूर्व परराष्ट्र मन्त्री डा. प्रकाशशरण महत प्रमुख अतिथि रहनु भएको भेलामा संघका पूर्व अध्यक्ष तथा संरक्षक देवमान हिराचन,  संघका सल्लाहकारहरु कुल आचार्य, विश्व आदर्श पण्डित, सोम सापकोटा, त्रिलोक गुरुङ, एसी शेर्पा, हरिबोल भण्डारी, केन्द्रीय उपाध्यक्षहरू सोनाम लामा तथा मन केसी, सचिव आर के शर्मा, सह कोषाध्यक्ष लोक दाहाल, महिला संयोजक भोमा लिम्बू, युरोप क्षेत्रीय संयोजक नारायण आचार्य, अफ्रिका क्षेत्रीय संयोजक रोशन थापा, युवा संयोजक हिमाल गुरुङ, मध्यपूर्व युवा संयोजक राज रेग्मी, एनसीसी अमेरिकाका पूर्व सल्लाहकार डा. यादव पण्डित, विभिन्न एनसीसीका अध्यक्षहरु लगायतका वक्ताले सारगर्भित मन्तव्य राख्नु भएको थियो।

त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा जनसम्पर्क समन्वय विभाग प्रमुख गोविन्द भट्टराई, नेकपा माओवादी केन्द्र प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा, नेकपा एकीकृत प्रवास समन्वय समितिका प्रमुख श्रीप्रसाद साह, जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्टलगायतका अतिथिहरुले सम्बोधन गर्नु भएको थियो। 

भेला तयारी समितिका संयोजक तथा राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीको अध्यक्षतामा सम्पन्न  उद्घाटन समारोह पछि  सबै सहभागी राष्ट्रिय समन्वय परिषद्हरुका अध्यक्ष तथा पदाधिकारीहरुले  बन्द सत्रमा नेपालमा हालै गएको बाढी पहिरो बाट उत्पन्न स्थिति,  संघमा हाल देखिएको समस्या तथा यसको निकास लगायतका विषयमा घनीभूत छलफल गर्नु भएको थियो।

गैर आवासीय नेपाली संघको १८ वर्षको अवधिमा पहिलो पटक घोषित मितिमा महाधिवेशन तथा चुनाव हुन नसकेको  र उत्पन्न विवादलाई अन्तर्राष्ट्रिय समन्वय परिषदले उचित सम्बोधन गर्न नसकेको हुनाले वैधानिक संकटको स्थिति उत्पन्न भएको छ ❘ यसै कुरालाई सम्बोधन गर्न नसकेको कारणले संघकै जिम्मेवार अभियन्ताहरुले पररास्ट्र मन्त्रालयमा निवेदन दिने स्थिति उत्पन्न भयो । तर समस्याको समाधान गर्न ठोस पहल गर्नुको सट्टा आरोप, प्रत्यारोपको माहोल शुरु गरियो।  यस्तो विषम परिस्थितिमा संस्थालाई निकास दिन ताजा जनादेश प्राप्त, भर्खरै निर्वाचित गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्हरुले स्वतस्फुर्त रुपमा विश्व भेला गरी  व्यापक छलफल गरियो । छलफलको आधारमा सर्वसम्मतिबाट पारित उक्त भेलाका निष्कर्ष निम्न अनुसार रहेका छन्:

१.     नेपालमा हालै भारी बेमौसमी वर्षाका कारण बाढी पहिरोमा परि भएको धन जनको क्षतिप्रति एनसीसीहरुको तर्फ़बाट गहिरो दुख ब्यक्त गर्दछौं ।  पीडित परिवार र समुदायलाई सहयोग गर्न एनसीसीहरुले आआफ्नो तर्फबाट सक्दो सहयोग जुटाउने र आपसी समन्वय गरि पठाउने निर्णय गरियो ।

२. गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्बाट एउटै विषयमा एनसीसीहरुलाई भिन्नाभिन्नै पत्र पठाउनु असमान व्यवहार भएको हाम्रो निश्कर्ष छ। आइसीसीले सबै एनसीसीहरुलाई समान व्यवहार गर्न नसक्नु तथा आइसीसीका पदाधिकारीहरु नै चुनावमा होमीने भएपछि आफ्नो अनुकूल स्थिति बनाउन यस्ता कामहरु गरिएको हामी एनसीसीहरुको भोगाइ र बुझाइ छ । आइसीसीको निर्वाचन परिणामलाई प्रभावित गर्न  एनसीसीको निर्वाचन तथा डेलिगेट्स चयन प्रक्रियामा हस्तक्षप गर्ने वातावरण अन्त्य गर्न हामी माग गर्दछौं ।

३. गैरआवासीय नेपाली संघ नेपाल सरकार परराष्ट्र मन्त्रालयमा दर्ता भएकाले संस्था भित्रका विवाद सम्बन्धमा सुनुवाइ नभएको अनुभूति गरे पछि नियामक निकायमा जानु स्वाभाविक भएको हाम्रो ठहर छ।  परराष्ट्र मन्त्रालयले दिएको सुझाव र सल्लाहलाई संघको विधान मुताविक कार्यान्वयन गर्न हामी संघको वर्तमान नेतृत्वलाई आह्वान गर्दछौं। मन्त्रालय, नेपाल सरकार वा कुनै दल विशेषलाई आरोप लगाउने काम कुनै पनि संस्थाको जिम्मेवार पदाधिकारीलाई सुहाउने काम होइन । त्यसो नगर्न पनि हामी आग्रह गर्दछौं।  

४. संघको विधानको गलत व्याख्या गरी नव निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई विश्व सम्मेलनमा भाग लिन नदिने काम न्यायोचित हुन सक्दैन।  यस सम्बन्धमा पुरानै प्रचलित अभ्यास अनुसार गर्नु भन्ने परराष्ट्र मन्त्रालयको स्पष्ट सुझाव तथा संघको विधानको मर्म र भावना अनुरुप ६५ प्रतिशत डेलिगेट्स चयन गर्ने जिम्मा २०२१-२३ का लागि निर्वाचित कार्यसमितिको नै हो भन्ने ठहर यो विश्व सम्मेलनले पनि गरेको छ।  त्यसैले सोहि अनुरुप गर्न गराउन अनुरोध गर्दै यसको तुरुन्त कार्यान्वयन गर्नका लागि यो सम्मेलन केन्द्रीय समिति  समक्ष जोडदार माग गर्दछ।

५. गैरआवासीय नेपाली संघको  विधानको व्यवस्था बमोजिम २ वर्ष भित्र महाधिवेशन गर्न नसकेको कारणले संघको विधानको धारा १६ (१) को (४) मा उल्लेख  भए बमोजिम संस्थाको साख बचाउन पहल गर्नु पर्ने जिम्मेवारी संरक्षक परिषदमाथि आइ पुगेको छ।  संघको इतिहासमै उत्पन्न अभूतपूर्व संकटलाई हालै कार्यकाल पुरा गरेको आइसीसी, नव निर्वाचित आइसीसी सदस्यहरु, सल्लाहकारज्यूहरु तथा हामी सम्पूर्ण एनसीसीहरुसंग छलफल र परामर्श गरी निकास निकाल्ने वैधानिक दायित्व पुरा गर्न  संरक्षक परिषद अग्रसर हुने हामीले विश्वास लिएका छौं।  संघलाई वर्तमान संकटबाट मुक्त गर्न आवश्यक जस्तो सुकै पहल कदमी लिन पनि एनसीसीहरु तैयार रहेको पुन: जोड दिन चाहन्छौं।  एमआइएस (सदस्यता सूचना प्रणाली) मा देखिएका अनियमितताहरुको छानबिन गर्नुका साथै निर्वाचन समितिसंग समन्वय गरी संघको दशौँ महाधिवेशन तथा स्वतन्त्र र निस्पक्ष निर्वाचन संम्पन्न गर्ने काममा संरक्षक परिषदलाई हाम्रो पूर्ण सहयोग रहने छ । त्यस्तै यो भेला २०२१-२३ का लागि निर्वाचित सम्पूर्ण आइसीसी सदस्यहरु दशौँ महाधिवेशनका लागि स्वतः प्रतिनिधि (डेलिगेट्स) मानिने व्यवस्था गर्न माग गर्दछ।

६. हामी हाम्रा यी सुझावहरु तत्काल कार्यान्वयन गर्न केन्द्रीय समितिलाई आग्रह गर्दछौं। यदि यी सुझावहरु कार्यान्वयन गर्न ढीलाइ गरिए एनसीसीका सबै अध्यक्ष तथा नवनिर्वाचित आइसीसी सदस्यहरु सहभागी विश्व भेला गरी आगामी कदमबारे निर्णय लिइने जानकारी समेत गराउंछौं।   

७.  गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद्हरुको पहिलो विश्व भेला सफल पार्न सहयोग गर्नु हुने सबै एनआरएनए अभियन्ताहरु, हाम्रो निमंत्रणा स्वीकारेर कार्यक्रममा सहभागी हुनु हुने प्रमुख राजनीतिक दलका प्रतिनिधिहरु, पूर्व परराष्ट्र मंत्री डा. प्रकाश शरण महत, संघसंस्था, संचारकर्मी मित्रहरु तथा एनआरएनए अमेरिकाको आइटी टिम लगायत सबैलाई यो भेला हार्दिक धन्यवाद ज्ञापन गर्दछ। 

विश्व भेला तयारी समिति  

गैरआवासीय नेपाली संघका सबै  राष्ट्रिय  समन्वय परिषद्हरु

२४ अक्टोबर २०२१

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us