एनआरएनए निर्वाचन : उच्च अदालत पाटनको आजको निर्णयमा भर पर्ने
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न निर्वाचन अदालतको फैसलाका आधारमा तय हुने भएको छ । निर्वाचन समितिले आइतबार पाटन उच्च अदालतको सरकार विरुद्धको अल्पकालिन आदेशलाई निरन्तरता दिए संघ निर्वाचन कार्यतालिका अनुसार अघि बढन लागेको हो ।
”अदालतले दिएको अल्पकालिन आदेशलाई आइतबार निरन्तरता दिए हामी ढुक्क संग निर्वाचन गराउँछौ,” निर्वाचन समितिका एक सदस्यले डायस्पोरानेपाल सँग भने । उनका अनुसार अल्पकालिन आदेश विपरीत सरकारको पक्षमा फैशला आए यो कार्यतालिका अनुसार निर्वाचन हुन सक्दैन । यद्यपी परराष्ट्र मन्त्रालयले डिसेम्बर भित्रै निर्वाचन गराउन निर्देशन दिएको छ ।
एनआरएनए भित्र देखिएको डेलिगेट्स विवादका बिषयमा बोल्दै नेपाल सरकार परराष्ट्र मन्त्रालयले वर्तमान अध्यक्ष कुमार पन्तलाई पदावधि सकिएको जनाउदै प्रमुख संरक्षक शेष घलेलाई निर्वाचन गराउने जिम्मेदवारी दिएको थियो । वैधानिक रुपमा आफु नै अध्यक्ष रहेको र आफ्नै नेतृत्वमा निर्वाचन गराउन माग गर्दै पन्त उच्च अदालत पाटन गएपछि अल्पकालिन आदेश जारी भएको थियो । उक्त अदालतको फैसलाले तत्काल घलेलाई काम गर्न रोकेको थियो भने पन्तको कार्यसमितिले निरन्तरता पाएको छ । उक्त एनआरएनए र नेपाल सरकार विरुद्धको मुद्दाको दुई पक्षबिच छलफल बहसपछि दोस्रो सुनवाई आगामी आइतबार हुदैछ ।
उच्च अदालत पाटनले अल्पकालिन आदेशलाई निरन्तरता दिए सोमबारबाट एनआरएनए औपचारिक रुपमा निर्वाचन कार्यतालिकामा प्रवेश गरि डिसेम्बर २६ मा निर्वाचन हुनेछ ।
यसै साता प्रमुख निर्वाचन आयुक्त अधिवक्ता लीलामणि पौडेलको हस्ताक्षर रहेको सो निर्वाचन कार्यक्रमअनुसार मतदाता नामावली प्रकाशन डिसेम्बर ६ तारिखमा , मतदाता नामावलीमाथि दाबीविरोध डिसेम्बर ७ तारिखमा, दाबी विरोधमाथि छानविन डिसेम्बर ९ तारिखमा गरी डिसेम्बर १० मा अन्तिम मतदाता नामावली प्रकाशन गर्नेलगायतका कार्यतालिका सार्वजनिक गरेका थिए ।
कार्यतालिका अनुसार डिसेम्बर ११ र १२ मा उम्मेदवारको मनोनयन दाखिला गर्ने, डिसेम्बर १२ मा उम्मेदवारको पहिलो नामावली प्रकाशन गर्ने, डिसेम्बर १३ मा उम्मेदवारीमाथि दाबी विरोध, डिसेम्बर १४ मा मनोनयन पत्र जाँच र दाबीविरोध माथि छानविन गरी डिसेम्बर १५ मा उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ । त्यसपछि डिसेम्बर १७ का दिन उम्मेदवारलाई उम्मेदवारी फिर्ता गर्ने मौका दिइनेछ भने डिसेम्बर १८ तारिखका दिन अन्तिम उम्मेदवारको नामावली प्रकाशन हुनेछ।
मतदान डिसेम्बर २६ नेपाली समयअनुसार बिहान ८ बजेदेखि भोलिपल्ट बिहान ७ बजेर ५९ मिनेट जाँदासम्म गर्न पाइनेछ ।