एनआरएनए चार एनसीसीहरुलाई कारवाही गर्ने निर्णय सच्याउन कुल आचार्यको अपिल
काठमाडौँ – गैर आवासीय नेपाली संघका सल्लाहकार तथा केन्द्रीय अध्यक्ष पदका प्रत्यासी कुल आचार्यले संस्थाको विधान, परम्परा र नियमावली विपरित २ मार्च २०२२ मा बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद आइसीसी बैठकले संस्थालाई गम्भीर आघात पुग्ने खालका निर्णयहरु गरेको जनाएका छन्।
अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) का सदस्यहरु सहभागी संघको विधान २००३ (२०२१ संशोधन सहित) विपरित संरक्षक परिषद तथा उच्चस्तरीय समितिलाई खारेज गर्ने, ७० प्रतिशत भन्दा बढी पन्जीकृत सदस्यहरु रहेका अमेरिका, युके, अस्ट्रेलिया, जापान तथा क्यानडा राष्ट्रिय समन्वय परिषदहरुको मान्यता समाप्त हुने लगायतका निर्णयहरु गरेको थियो ।
“संस्थाभित्र सहमति कायम गरी विधिसम्मत रुपमा दशौँ महाधिवेशन सम्पन्न गर्ने प्रयास बिथोल्न र संस्थालाई जसरि पनि कब्जा गरि छाड्ने मनसायले यस्ता निर्णयहरु गरिएको हाम्रो ठहर छ। संस्थालाई विभाजित गर्ने यस्तो आत्मघाती निर्णय तत्काल सच्याएर वार्ता र छलफलको माध्यमबाट समस्याको समाधान खोज्न म साथीहरुलाई अपिल गर्दछु। यस्तो गतिविधिको फलस्वरुप संघ विभाजित हुने परिस्थिति उत्पन्न भएमा त्यसको सम्पूर्ण जिम्मेवारी अहिलेको नेतृत्वले नै लिनु पर्ने पनि स्पष्ट पार्न चाहन्छौं,” आचार्यले वक्तव्यमा भनेका छन्।
संस्थाको केन्द्रीय सल्लाहकारको हैसियतले गत जनवरी महिनाको पहिलो साता संरक्षक परिषदका सदस्यज्यूहरु, संस्थाका संस्थापक अध्यक्ष तथा वर्तमान अध्यक्षलाई एकै थलोमा ल्याउन आफुले प्रयास गरेको आचार्यले स्मरण गरेका छन्। “त्यस पछि अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) को ८१ औं बैठकले प्रमुख संरक्षक आदरणीय डा. शेष घलेज्यूको संयोजकत्वमा सात सदस्यीय उच्चस्तरीय समिति गठन ग-यो। तर उक्त समितिले काम पुरा नगर्दै विवादित प्रतिनिधि (डेलिगेट्स) सूची निर्वाचन समितिमा पठाउने कामले उच्चस्तरीय समितिको अपमान गर्नुका साथै विधिसम्मत ढंगले समस्याको समाधान खोज्ने प्रयासमा गम्भीर धक्का पुगेको हाम्रो ठहर छ,” आचार्यले भनेका छन्।