उपाध्यक्ष उम्मेदवार क्षेत्रीको प्रतिबद्धता : एनआरएनएमा ‘हजारे अभियान’ कार्यान्वयन
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को १० औं विश्व सम्मेलन तथा महाधिवेशन नजिकिदै जादा नयाँ नेतृत्व चयनको रस्साकस्सी सुरु भैसकेको छ । यसै सन्दर्भमा मैले पनि आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने निधो गरिसकेको छु । विश्वभर छरिएर रहेका लाखौ नेपालीको साझा संस्थाको रुपमा रहेको एनआरएनएको नेतृत्वमा पुग्न आकांक्षा राख्नेहरु बढ्नु स्वभाविक हो । तथापी, उम्मेदवारीका लागि मात्रै उम्मेदवारी भन्दा पनि योगदान दिन सक्ने र कार्यदक्षताको क्षमता भएकाहरु
नेतृत्वमा पुग्नुपर्छ भन्ने मेरो मान्यता हो ।
एनआरएनए अभियानमा लामो समय ब्यतीत गर्दै गर्दा यो संस्था धनीहरुको मात्र संस्था हो भन्ने ठुलो भ्रम नभएको पनि होइन तथापी यस बीचमा एउटा श्रमिकको रुपमा विदेशिएको मलाई विभिन्न जिम्मेवारीमा रहेर काम गर्ने अवसर प्रदान गर्नुहुने विश्वभरका पार्षद् र अग्रजहरूको भावनालाई अझ उच्च बनाउदै एनआरएनए सबैको साझा संस्था हो भन्ने सन्देश दिन पनि यसपटक उपाध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ ।
म एउटा होटल क्षेत्रमा काम गर्ने सामान्य श्रमिक हुँ । निम्न मध्यम वर्गीय परिवारमा जन्मिएर हुर्किएको म सन् १९९८ मा रेस्टुरेन्ट श्रमिकको हैसियतमा साउदीको दमाम पुगें । दमाममा कार्यरत होटलले ओमानमा फ्रेन्चाइज खोल्ने भएपछि सन् २००६ मा ओमान गएँ । त्यस बेलादेखि अहिलेसम्म ओमानमै पसिना बगाइरहेको छु । मेरो परिचय हिजो पनि श्रमिक हो र आज पनि श्रमिक नै छ ।
विश्वभर विभिन्न पेशा, व्यवसाय, अध्ययन तथा श्रमका लागि ४० लाख भन्दा बढी नेपाली छरिएर रहेकोमा त्यसको अधिकांश हिस्सा श्रमिकवर्गले नै ओगटेका छन । त्यही वर्गबाट आजसम्म सबैको मन जित्दै एनआरएन अभियानमा जेजति योगदान पु¥याउन सके त्यसलाई अझ उचाइमा पु¥याउनु मेरो कर्तव्य हो भन्ने मेरो ठम्याई छ ।
गैरआवासीय नेपाली संघको अभियानमा म विशेष हिसाबले होमिएँ । जब ओमानमा पुगें, त्यतिखेर ओमानमा नेपाली दूतावास थिएन । ओमानलाई साउदीको रियादस्थित नेपाली दूतावासले हेर्ने भएपनि भौगोलिक दूरी र सहज पहुँचको अभावमा ओमानवासी नेपालीहरू
असाध्यै कष्ट, हैरानी र समस्याहरू आफैंभित्र गुम्स्याएर बसेका थिए । हाउसमेडमा कार्यरत युवतीहरूले व्यहोरेका शारीरिक र मानसिक शोषणका मुद्दालाई सम्बोधन गरिदिने कोही थिएन । मेरो एक्लो आवाज सुन्ने फुर्सद सिंहदरबारलाई थिएन । यी मुद्दा सुनाउन र ओमानमा नेपाली दूतावास स्थापना गर्नकै लागि एनआरएनए, ओमान स्थापनाको अग्रसरता लिएँ । त्यसमा म संस्थापक सदस्य भएँ । त्यसपछि ओमान एनसीसीको २००९–११ प्रवक्ता, २०११–१३ र २०१३–१५ दुई कार्यकाल अध्यक्ष भएँ । यस अवधिमा ओमानमा रहेका नेपालीका सवाललाई केन्द्रमा स्थापित गराउन सफल भएँ । जसले गर्दा ओमानमा नेपाली दूतावास स्थापना भयो । यसले मलाई थप ऊर्जा मिल्यो ।
वैदेशिक रोजगार केही समय यताको ठूलो मुद्धा हो । यसको सम्बोधन र सुनुवाइ हुनसकिरहेको थिएन । मैले खाडीका सवाललाई प्रमुख बिषय बनाउन एनआरएनए मध्यपूर्व संयोजकमा गएर काम गर्ने सपना देखें । एनआरएनका पार्षदको विश्वास जितेर सन् २०१५ देखि १७ सम्म मध्यपूर्व संयोजकको जिम्मेवारीमा रहेर काम गर्ने मौका पनि मिल्यो । यो समयमा वैदेशिक रोजगारीमा जाने कामदारलाई सामाजिक सुरक्षा योजनाभित्र समेट्नुपर्छ भन्ने विषयलाई मुख्य मुद्दा बनाएँ । त्यसलाई सरकारले नीतिगत हिसाबले सम्बोधन गरिसकेको छ ।
यसपछि २०१७–१९ मा आईसीसी सचिवमा निर्वाचित भएँ । यसले विश्वभर छरिएर रहेका नेपालीका विषयहरू थप नजिकबाट बुझ्ने अवसर मिल्यो । यही अवसरकाबीच विश्वभर छरिएका नेपालीको आपसी एकता, सद्भाव र समन्वय गर्न सक्दो प्रयास गरें । हाल २०१९–२०२१
कार्यकालमा प्रबक्ताको भूमिकामा एनआरएन अभियानमा निरन्तर जोडिएको छु । सचिव र प्रबक्ताको जिम्मेवारीमा रहेर आफ्नो भूमिका निर्वाह गरिराख्दा मलाई मध्यपूर्वर मलेसियाको मात्रै सवाल होइन, वैदेशिक रोजगारीका लागि पूर्वी यूरोप, अफ्रिका, अमेरिका, अस्ट्रेलिया र क्यानाडालगायत मुलुकहरूमा जाने नेपालीको सवालहरूले पनि झक्झकायो । पूर्वी यूरोपमा सडकपेटीमा सुत्न बाध्य पारिएका र अमेरिका लग्ने नाममा बिचल्ली भई मृत्युको मुखमा पुगेकाहरूको आवाज अझै उठन सकिरहेको छैन । यी क्षेत्रकाआवाजलाई दरिलो रूपमा उठाउन विश्वभर रहेका नेपालीको साथ आवश्यक पर्छ । यूरोप, एसिया, अमेरिका र अष्ट्रेलियामा रहेका नेपालीलाई एकसाथ जोड्न सकेमा मात्रै विश्वभर रहेका
लाखौं नेपालीको मुद्धामा नेपाल सरकारलाई थप जिम्मेवार बनाउन सकिनेछ ।
यही कारण अब मैले एनआरएनएको अर्को महत्वपूर्ण पद उपाध्यक्षमा गएर सेवा गर्ने अठोट लिएको छु । विश्वभरका नेपालीले देशका लागि सकेको योगदान दिनुपर्छ भन्नेमा दुईमत छैन । मेरो मुख्य मुद्धा भनेको विदेशमा छरिएर रहेका सम्पूर्ण नेपालीले आफ्नो संवैधानिक अधिकार प्राप्त गरून्, देशले उनीहरूको हकहित र सुरक्षाका लागि पनि काम गरोस् भन्ने हो । अर्थात् विदेशी भूमिमा नेपाल सरकारको दरिलो उपस्थिति होस् भन्ने हो । नेपालमा झन्डै ५४ लाख २३ हजार घरधुरी छन् । विश्वभर यही नै संख्याको वरिपरि नेपालीहरू छरिएका छन् । सम्भवतः हरेक घरधुरीका एक सदस्य बाहिर छन् । अब तपाई सोच्नुस ।
प्रवासमा रहनेको सवाल कति महत्वपूर्ण छ ?
धेरैले सोध्छन्, एनआरएनएको मुख्य काम के हो ? एनआरएनएको मुख्य काम विदेशमा रहेका नेपालबीच एकता बढाउनु हो । आपसी सहयोग र सद्भावको विकास गर्नु हो । संसारभर छरिएका नेपालीबीच स्वस्थ र मर्यादित हिसाबले समन्वय गराउनु हो । यो कार्यबाट म विचलित
हुने छैन । समग्रमा हामीले छुटाउनै नहुने केहि मुद्धा अवश्य छन यसमा पनि मैले प्रवासमा सबैभन्दा बढी हिस्सा ओगटेका र समस्यासँग जुधिरहेका वर्गहरुको मुद्धालाई केहि चर्चा गर्न खोजेको छु ।
वैदेशिक रोजगारको क्षेत्र बहुआयामिक छ । यसको लाभ र असर व्यक्ति, घर परिवार, समाज, राष्ट्र र रोजगारदाता मुलुकसम्म पर्ने गर्छ । यसैले यसको सुधारमा पनि सबै क्षेत्रको उत्तिकै महत्वपूर्ण भूमिका र योगदान रहन्छ । वैदेशिक रोजगार क्षेत्रको सुधार गर्ने पहिलो विषय नीति तथा कानुनी पक्ष हो । दोस्रो कार्यान्वयन पक्ष । नीति वनाउन र कार्यान्वयन गर्न एनआरएनएले सरकारसँग सहयोगी र समन्वयात्मक ढंगले काम गर्नेछ । सूचना शक्तिशाली हतियार हो ।
विदेशमा समस्यामा परेका नेपालीको सूचना सही समयमा सही ठाउँँमा पु¥याउनु नै हाम्रो काम हुनेछ । यसका लागि सबै एनसीसीलाई परिचालन गर्नु आवश्यक छ । वास्तवमा एनआरएनए नेतृत्वको पहिलो कर्तव्य भनेको विदेशमा रहेका नेपाली श्रमिकको हक–
हितको संरक्षण र सामाजिक सुरक्षालाई प्राथमिकता दिई प्रमुख गन्तव्य मुलुकहरुसँग द्विपक्षीय श्रम सम्झौता गराउन, यसको कार्यान्वयनमा सघाउन र श्रम कुटनीतिको नीतिलाई अवलम्बन गर्न सरकारसँग निरन्तर पहलकदमी गर्नु हाम्रो दायित्व हो । साथै विदेश जादा र रहदाको
सम्पूर्ण प्रक्रिया पेपरलेस बनाउदै श्रम स्वीकृति नबिकरणलाई बिदेशस्थित कुटनैतिक निकायबाटै गरिने ब्यवस्था लागू गराउन, हाल भईरहेको अनलाइन श्रम स्वीकृति प्रमाणिकरण प्रकृयालाई सरल बनाइ सर्बसाधारण कामदारहरुको पहुँचसम्म पु¥याउन हामी जोडतोडका साथ लाग्नु जरुरी छ ।
अर्कोतिर प्रवासमा रहेका नेपालीको सामाजिक सुरक्षा प्रमुख सवालकोरुपमा हामी सामू रहेको छ। एनआरएनएले पनि विदेशमा कार्यरत कामदारलाई सामाजिक सुरक्षा दिनुपर्छ भनेर केही बर्ष यता लगातार ‘हजारे अभियान’ चलायो । यसमै रहेर कर्मचारी सञ्चय कोषले वैदेशिक
रोजगारीमा रहेका व्यक्तिहरूलाई सञ्चय कोष एवम् सामाजिक सुरक्षा योजनामा आवद्ध गर्न आवश्यक नीतिगत, कानूनी, संस्थागत र प्रक्रियागत सुधारका क्षेत्र पहिचान पनि गरेको छ । यो हाम्रो विगतको प्रयासको उपलब्धि हो । अब यसलाई अन्तिम रूप दिई कार्यान्वयनमा लैजान
विशेष पहल गर्नु एनआरएनएको कर्तव्य हो ।
यस्तै गैरकानुनी अवस्थामा वैदेशिक रोजगारीमा रहेका घरेलु कामदारहरुको समस्या समाधान, गैरकानुनी भएकाले नै बर्षौँदेखि नेपाल फर्कन नपाएका नेपाली तथा विभिन्न कारण जेल जिवन विताउन बाध्य, उपचार अभावमा छटपटाइरहेका तथा अस्पतालको सथ्यामा अलपत्र नेपालीको
घर फिर्तीलाई सहज बनाउन सरकारसँग समन्वय गर्नु अहिलेको अर्को ठुलो आवश्यकता हो ।
यस्तै वैदेशिक रोजगारीको क्रममा पीडित बन्न पुगेका कामदार तथा तिनका परिवारलाई प्रदान गरिने आर्थिक सहायताको प्रक्रियालाई सरलीकृत गरी स्थानीय तहमा नै सहज रूपमा प्राप्त गर्न सकिने बनाउनु र गरी पहल गरिनेछ । अदक्ष जनशक्ति बढी विदेशिदा नै समस्या पनि बढी आइरहेको यर्थाथताकाबीच दक्ष सीपयुक्त कामदार उत्पादन गर्न सातै प्रदेशहरुमा सीप बिकास तालिम केन्द्रहरुको स्थापना गर्न आवश्यक छ
। यसो हुन सकेमा यसले नेपालीहरुको क्षमतामा बृदि भई नेपाल ‘स्कील्ड’ श्रम बजारको रुपमा बिकास हुने छ भने स्वदेशमै पनि यस्ता जनशक्ति खपत हुनेछन । उता वैदेशिक रोजगारीबाट फर्केका जनशक्तिको सिप तथा विप्रेषणलाई राष्ट्रको आर्थिक विकासमा टेवा पुग्ने र
आन्तरिक रोजगारीको सिर्जना हुने गरी लगानी गर्न सामाजिक तथा आर्थिक पुनःएकीकरणका लागि प्रभावकारीरुपमा लगाउन जरुरी छ ।
हामीले विगतदेखिनै उठाउदै आएको एक पटकको नेपाली सधैको नेपाली अर्थात नागरिकताको निरन्तरता भन्ने मुद्धालाई सरकारले संविधानमै व्यवस्था गरेपनि नीति निर्माणमा अल्झदा अझ यो कार्यान्वयनमा जान सकेको छैन । यसको कार्यान्वयन सँगै देश बाहिर रहेका ५० लाख
नेपालीलाई विदेशबाटै मतदान गर्ने र शिक्षित वर्गलाई देशको नेतृत्व छान्ने अधिकारका लागि हामीले धेरै काम गर्न बाकी नै छ ।
अर्को कुरा पर्यटन प्रवद्र्धनका लागि ‘एक प्रवासी नेपाली एक पर्यटक’ लक्ष्यसाथ विश्वका सबै मुलुकहरूमा ‘वेलकम टु नेपाल’ अभियान चलाउन सके नेपाललाई अन्तरराष्ट्रिय होलिडे टुरिज्म हबको रुपमा विश्वभर परिचित बनाउन सकिने छ भने गैरआवासीय नेपालीको स–सानो बचतलाई एकाकार गरी नेपालको अनुहार फेर्न सक्ने क्षमता भएका परियोजनाहरू तय गर्न सकिएमा स–साना पुँजीको संग्रहबाट ठूलो परिमाणको पुँजी तयाको आवश्यकता परिपूर्ति हुने छ । विदेशबाट फर्केर स्वदेशमै सिप अनुसारको व्यवसाय गर्न खोज्नेलाई सहुलियत ऋण प्रदान र गैरआवासीय नेपालीहरूलाई अल्पकालीन तथा दीर्घकालीन लगानी गर्न प्रोत्साहनगर्ने किसिमको नीति निर्माण गर्न र सो कार्यान्वयनका लागि तदारुकतासाथ काम गर्न आवश्यक छ।
हामीले उठाउदै आएका र उठाउन आवश्यक हरेक मुद्धालाई पहिचान गर्दै प्रभावकारी कार्यान्वयनका लागि सचिवालयलाई चुस्त बनाउन पनि आवश्यक छ । यसका लागि सचिवालयलाई आधुनिकीकरण गर्दै आइसीसी, एनसीसी तथा क्षेत्रीय परिषदहरुबीचको समन्वय कायम गर्नु
एनआरएनएको अर्को चुनौती हो । अब हामीले सधै एजेण्डा मात्र उठाउनु भन्दा पनि उठाइएको एजेण्डा तथा मुद्धामा यो यो काम गर्न सकियो भन्न सक्नुपर्छ । यसका लागि प्रतिवद्ध भएर नै म उपाध्यक्ष पदका लागि अघि बढेको हुँ । आशा छ विश्वभर रहनुभएका सम्पूर्ण गैरआवासीय नेपालीहरुले भाषण भन्दा पनि काम गर्ने व्यक्तिलाई नेतृत्वमा पठाउनु हुनेछ ।
गैरआवासीय नेपालीको अभियानलाई राजनीतिक रूपमा मात्रै बढी चर्चामा ल्याउने प्रवृत्ति रहेको र पर्याप्त स्रोत साधन जुटाउन सक्ने भए तापनि कुनै एजेण्डामा स्थिरता नभएको भनी आरोप आउने गरेको छ । यसबाट हामी मुक्त हुनुपर्छ । राजनीति संस्थाको भलाईको लागि
हुनुपर्छ तर संस्था धुमिल्याउन राजनीति घुस्नु हुन्न भन्नेमा हामी स्पस्ट हुनु जरुरी छ ।
(लेखक गैरआवासीय नेपाली संघको प्रवक्ता तथा आगामी कार्यकालका लागि उपाध्यक्षको उम्मेदवार हुन ।)