अवैतनिक महावाणिज्यदूतहरुलाई एनआरएनएसंग सहकार्य गर्न कुल आचार्यले गरे अनुरोध
स्टकहोम – गैरआवासीय नेपाली संघका नवनिर्वाचित अध्यक्ष कुल आचार्यले विदेशस्थित अवैतनिक महावाणिज्यदूतहरुलाई गैरआवासीय नेपाली संघसंग सहकार्य गर्न आग्रह गरेका छन्। गैरआवासीय नेपाली संघ स्विडेनद्वारा मंगलबार आयोजित एक अन्तरक्रियालाई सम्बोधन गर्दै अध्यक्ष आचार्यले कतिपय मुलुकहरुमा अवैतनिक महावाणिज्यदूत (अनरेरी कंसुल) हरुले संघका राष्ट्रिय परिषदहरुसंग समन्वय गर्ने नगरेको गुनासो आएको बताए।
उनले यो विषय समन्यव गरि दिन परराष्ट्र मन्त्रालायलाई पनि आग्रह गरे । अध्यक्ष आचार्यले हाल संसदमा विचाराधीन नागरिकता विधेयक छिट्टै पारित गरेर गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह पनि गरे। तीन पुस्ताले मात्रै नागरिकता पाउने, गृह मन्त्रालयबाट लिनु पर्ने जस्ता प्रावधान सहजीकरण गर्न पनि उनले आग्रह गरे। उनले अनलाइनबाट नागरिकता दिनु पर्ने, नेपाली बोल्ने विषयलाई वाध्यात्मक बनाउन नहुने पनि सुझाव दिए। उनले गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा आए पछि एनआरएनहरुको नेपालमा रहेको सम्पत्ति सुरक्षित हुने पनि बताए।
अध्यक्ष आचार्यले नेपाल सरकारले हालै एनआरएनहरुलाई नेपालका बैंकमा डलर एकाउंट खोल्न थुप्रै सुविधा दिएको बताए । एनआरएनहरुलाई लक्षित गरी नेपाल राष्र्ह बैंकले १ जुन (बुधबार) देखि निष्काशन गरेको वार्षिक १२.५ प्रतिशत व्याज पाइने वैदेशिक रोजगार बचतपत्र किनेर तथा डलर एकाउंट खोलेर लाभान्वित हुन पनि उनले सबै गैरआवासीय नेपालीहरुलाई आग्रह गरे। अब मातृभूमिको गुन तिर्नु पर्ने बेला आएको छ,’ उनले भने।
कार्यक्रममा बोल्दै संयुक्त राष्ट्र संघद्वारा आयोजित ‘स्टकहोम प्लस फिफ्टु सम्मेलनमा सहभागी हुन नेपालबाट आएका वन तथा वातावरण मन्त्रालयका सचिव डा. प्रेम नारायण कंडेलले नेपालको वातावरण संरक्षण गतिविधिलाई सघाउन छिट्टै स्वेडिश सरकारसंग सम्झौता हुन लागेको जानकारी दिए। उनले विदेशमा पनि एकजुट भएर मातृभूमिको सेवा गरिरहेकोमा गैरआवासीय नेपाली समुदायको प्रशंसा गरे। सोही सम्मेलनमा भाग लिन आएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रवासमा रहेका नेपालीहरुलाई कन्सुलर सेवा दिन सरकार तयार रहेको बताइन्। उनले विभिन्न देशमा रहेका अनररी कंसुलहरुलाइ संघका राष्ट्रिय च्याप्टरहरुसंग समन्वय गरेर काम गर्न मन्त्रालयले सुझाव दिने पनि जनाइन्।
गैरआवासीय नेपाली संघ स्विडेनका अध्यक्ष राज कुमार पाठकको अध्यक्षतामा भएको उक्त अन्तरक्रियामा पूर्व अध्यक्ष चिरन्जीवी खरेल, आइसीसी सदस्य दिनेश थापा लगायतले आफ्नो मन्तव्य राखेका थिए ।