अल्डरसटको शिव मन्दिरको च्यारिटी डिनर नाइटमा १५ हजार पाउण्डको प्रतिबद्धता
लण्डन । अल्डरसटस्थित शिव मन्दिर संचालनका लागि शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरले आयोजना गरेको ‘च्यारिटी डिनर नाइट’मा १५ हजार पाउण्डको प्रतिबद्धता आएको छ । अल्डरसटस्थित एम्पायर हलमा आइतबार सम्पन्न च्यारिटी डिनर नाइटमा उपस्थिति सामाजिक व्यक्तित्वहरुबाट करिब १५ हजार पाउण्ड प्रतिबद्धता आएको हो । उक्त रकम उठ्नेक्रम सुरु भएको कोषाध्यक्ष निरज शर्माले बताए । संरक्षक पुरन गिरीको संयोजकत्वमा शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरको कार्यसमिति, प्याट्रोन र ट्रष्टी समेतको आयोजनामा च्यारिटी गरिएको थियो ।
शिव मन्दिरका अध्यक्ष बाचस्पति रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गैर आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुल आचार्यलाई प्रमुख अतिथिका रुपमा उपस्थित थिए ।
प्रमुख अतिथि आचार्यले डायस्पोरामा पनि नेपालीहरुको धार्मिक आस्था उत्तिकै रहेको जनाए । रसमोर बरो काउन्सिलका काउन्सिल लिडर डेभिड क्लीफोर्डले नेपालीहरुको काम प्रति आफ्नो सहयोग रहने प्रतिवद्धता जनाए । उनले च्यारिटीमा उपस्थित सबैलाई धन्यवाद दिए । शिव मन्दिरलाई प्रभावकारी रुपमा सञ्चालन गर्न आर्थिक सहयोग जुटाउन च्यारिटी डिनर नाइट आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बाचस्पति रेग्मीले जानकारी दिए ।
कार्यक्रममा शिव मन्दिर स्थापनाको परिकल्पनादेखि निर्माण हुँदासम्मको अवस्था भिडियोमार्फत देखाइएको थियो ।
बेलायतवासी नेपालीहरुले सन् २००७ देखि पूजाआजा र विभिन्न समयमा महायज्ञ सञ्चालन गरी सहयोग सकंलन गरि मन्दिरका लागि भवन खरिद गरिएको थियो ।
मन्दिरमा चतुर्मुखी शिवलिंग समेतको मूर्तिहरु स्थापना गरी सन् २०२१ को विजया दशमीको अवसरमा प्राणप्रतिष्ठा गरि सुचारु गरिएको हो । कोरोना संक्रमणका कारण विभिन्न स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गरि सञ्चालन हुँदै आएको शिव मन्दिरमा दुर्गा पूजा, शिवरात्री पूजा, होली लगायत विवाह र ब्रतबन्ध जस्ता धार्मिक कार्यक्रम भैरहेका छन् ।
च्यारिटीमा नेपालका राष्ट्रिय कलाकारहरु लोकदोहोरी गायिका तुलसी क्षेत्री र गायक कृष्ण अकेलीलगायतले सांगीतिक प्रस्तुति दिएका थिए ।
कार्यक्रममा काउन्सिलर जीव बेलबासे, काउन्सिलर प्रवेश केसी, कम्युनिटीका सहसचिव हरि भट्टराई, कोषाध्यक्ष निरज शर्मा, गंगा रेग्मी, बिमला पौडेल भट्टराई, राधा शर्माले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । शिव मन्दिरका संरक्षक एवं तमुधि यूके अध्यक्ष हितकाजी गुरुङ, संरक्षक एवं एनआरएन यूके प्रमुख संरक्षक शेरबहादुर सुनार, संरक्षक डा. विनोद कुमारलगायतको उपस्थिति थियो ।
क्वोने घोताने कोण्डे गुरुङ यूके समाजका अध्यक्ष पिताम्बर गुरुङ एवं पदाधिकारीहरु, तमुधि यूके पूर्व अध्यक्षहरु रामचन्द्र गुरुङ, ज्ञाम गुरुङ, उपाध्यक्षहरु हरि गुरुङ, जुमकाजी गुरुङ, बगर भाइखलक यूके अध्यक्ष डिलरास गुरुङ, ग्रेटर रसमोर नेपाली कम्युनिटी अध्यक्ष मानप्रसाद गुरुङ, पूर्व अध्यक्ष ओम काउचा थापा, पर्वत समाज यूके अध्यक्ष नेत्र आले र समाजसेवी थर्क सेनलगायत समाजसेवीहरु च्यारिटी नाइटमा सहभागी भए ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष विक्रम भट्टाराई र संरक्षक एवं पूर्व अध्यक्ष सुनित जैनले स्वागत मन्तव्य कार्यक्रम उद्घोषण संरक्षक एवं पूर्व अध्यक्ष रोहित गुरुङ र ट्रष्टी सुष्मा गुरुङले गरेका थिए ।