युनाइटेड छाड्ने रोनाल्डोको इच्छा

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडलाई आफूले क्लब छाडेर जान चाहेको जानकारी दिएका छन् । तर युनाइटेडले भने पोर्चुगिज स्टारलाई बिक्री गर्न नचाहेको स्पष्ट पारेको छ ।

३७ वर्षीय खेलाडीले युनाइटेडलाई राम्रो अफर आए आफूलाई जान दिन आग्रह गरेको बताइएको छ । योसँगै अर्को प्रिमियर लिग क्लब चेल्सी ‘हाई अलर्ट’ मा बसेको छ । रोमेलु लुकाकुले क्लब छाडेर गएपछि चेल्सी नयाँ स्ट्राइकरको खोजीमा रहेको छ ।

दुई दशकमा पहिलोपटक च्याम्पियन्स लिग खेल्न नपाउने भएकाले रोनाल्डो असन्तुष्ट रहेको बुझिएको छ । त्यस्तै, युनाइटेडको अहिलेको टोली प्रिमियर लिगमा दाबेदारी प्रस्तुत गर्न असमर्थ रहेको उनको ठम्याइ रहेको छ । रोनाल्डो आफू ४० वर्षको उमेरसम्म उच्च स्तरमा खेल्न सक्ने र अझै एकपटक च्याम्पियन्स लिग उपाधिका लागि दाबेदारी प्रस्तुत गर्ने सोचमा रहेको बेलायती मिडियाहरूले जनाएका छन् ।

उनी गत सिजन १.३ करोड पाउन्डमा उनी युभेन्टसबाट आफ्नो पूर्व क्लब भित्रिएका थिए । तर, युनाइटेड छैटौँ स्थानमा सीमित भएपछि उनले अब युरोपा लिग खेल्नुपर्ने हुन्छ । 

उनले युवा अवस्थामा खेलेको क्लब स्पोर्टिङले रोनाल्डोलाई भित्र्याउन चाहे पनि उनको ४ लाख ८० हजार पाउन्ड प्रति हप्ताको तलब क्लबका लागि असम्भव रहेको छ । त्यसैले अब रोनाल्डोका लागि चेल्सी, बायर्न म्युनिख वा इटाली फर्कने विकल्प बाँकी रहेको छ । 

रोनाल्डो गत सिजन युनाइटेडका सर्वाधिक गोलकर्ता थिए । ३९ खेलमा २४ गोल गर्नुका साथै उनले ३ वटा गोलको अवसर सिर्जना गरेका थिए । युनाइटेडका नयाँ प्रशिक्षक एरिक टेन ह्याग भने यो प्रकरणमा मौन रहेका छन् ।

© 2022 All Right Reserved DiasporaNepal