नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले आर्थिक वर्ष २०७९/८० बाट उधारोमा कारोबार नगर्ने

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले आर्थिक वर्ष २०७९/८० बाट उधारोमा कारोबार नगर्ने भएको छ।

पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बृद्धि भई कारोबारलाई नियमित गर्न ठूलो नगद प्रवाहको आवश्यकता परेको भन्दै आइतबार बसेको एसोसिएसनको केन्द्रीय कार्यसमिति बैठकले पेट्रोलियम पदार्थको बिक्री वितरण अग्रिम रूपमा नगद भुक्तानी गरेर मात्र गर्ने निर्णय गरेको हो।

एसोसिएसनले यसअघि उधारोमा कारोबार गरिरहेका खरिदकर्तासहित कसैलाई पनि आ.व. २०७९/०८० बाट उधारोमा कारोबार नगर्न/नगराउन भन्दै शुक्रबार सूचनासमेत सार्वजनिक गरेको छ।

‘बिक्रेताको लगानीको अनुपातमा प्रतिफल समेत अत्यन्त न्यून रहेको हुँदा यस एसोसिएसनको मिति २०७९ असार १२ गते बसेको केन्द्रिय कार्यसमितिको बैठकले पेट्रोलियम पदार्थको खरिद अग्रिम रुपमा नगद भुक्तानी गरेर मात्र हुने हुँदा बिक्री बितरण पनि नगदमा मात्र गर्नू/गराउनू हुन र यसअघि उधारोमा कारोबार गरिरहेका खरिदकर्ताहरु सहित कसैलाई पनि आ.व. २०७९/०८० बाट उधारोमा कारोबार नगर्न/नगराउनू हुन जानकारी गराउँदै यो सूचना सार्वजनिक गर्ने निर्णय गरेको छ’, सूचनामा भनिएको छ। 

विभिन्न व्यक्ति, फर्म, कम्पनी तथा कार्यालयले उधारोमा कारोबार गर्दै आएको र सो रकम सम्बन्धित पेट्रोल पम्पलाई चुक्ता नगरी पुनः अर्को पेट्रोलपम्पबाट सोही खरिदकर्ताले उधारोमा लिने गरेको भन्दै त्यसमा एसोसिएसनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।  

यसैबीच एसोसिएनले यसअघि एउटा पेट्रोल पम्पसँग लिइएको उधारो भुक्तानी नगरी अर्को पेट्रोल पम्पबाट पुनः उधारोमा कारोबार गर्ने वा लामो समयदेखि उधारो रकम भुक्तानी नगर्ने खरिदकर्ता व्यक्ति, फर्म, कम्पनी तथा कार्यालयहरुको विवरण १ महिना भित्र उपलब्ध गराउन सम्पूर्ण सदस्य बिक्रेतालाई अनुरोध गरेको छ।

त्यस्ता खरिदकर्तालाई पुरानो पेट्रोल पम्पको बाँकी बक्यौता चुक्ता नगरेसम्म कालो सूचीमा राखी नाम सार्वजनिक गर्ने र राज्यभरिका कुनै पनि पेट्रोल पम्पबाट नगदमा समेत पेट्रोलियम पदार्थ उपलब्ध नगराउने निर्णय गरेको छ।

© 2022 All Right Reserved DiasporaNepal