भूकम्पले क्षतिग्रस्त अफगानिस्तानले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

एजेन्सी

भूकम्पले क्षतिग्रस्त अफगानिस्तानले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ । भूकम्पबाट त्यहाँ एक हजारभन्दा धेरै नागरिकको ज्यान गएको छ ।

तालीबान सरकारले उद्धार, पुनर्स्थापना र पुरिएका नागरिकको खोजीका लागि आवश्यक सहयोगको अपिल गरेको हो । तालीबानले अन्तर्राष्ट्रिय सहायताको लागि आग्रह गरेको काबुलमा रहेको युनिसेफ कार्यालयलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

भूकम्पले भत्काएका संरचनाभित्र के–कति मानिस पुरिएका छन् भन्नेबारेमा पूर्ण जानकारी आइसकेको छैन । घाइतेको उपचार भइरहेको छ । उद्धार तथा व्यवस्थापनको काम पनि भइरहेको छ । तर घरबासविहीनलाई सुरक्षित ठाउँमा राख्ने काम चुनौतीपूर्ण रहेको तालीबान सरकारले जनाएको छ ।

भूकम्पलगत्तै ठूलो पानी समेत परेको छ । यसले पनि उद्धार र खोजीमा थप समस्या पारेको छ । अफगानिस्तानको दक्षिण पूर्वी पङ्क्तिका प्रान्तमा भूकम्पले सबैभन्दा धेरै क्षति गरेको छ ।दुर्गममा रहेका गाउँहरूमा अझै आवश्यक सहयोग र निकायहरु पुग्न सकेका छैनन् । ती ठाउँमा घाइते भएकाहरुलाई हेलिकप्टर प्रयोग गरेर अस्पताल लगिएको छ ।

अफगानिस्तानको खोस्त सहरभन्दा झन्डै ४४ किलोमिटर टाढा केन्द्रबिन्दु बनाएर ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो । मानिसहरू सुतिरहेका बेला मङ्गलवार राति साढे एक बजे भूकम्प गएको थियो ।

तालीबान नेता हिबतुल्लाह अखुन्जादाले भूकम्पका कारण सयौँ घरहरू भत्किएको र ज्यान गुमाउनेहरुको सङ्ख्या थप बढ्न सक्ने बताउनुभएको छ । भूकम्पको धक्का राजधानी काबुलसहित, पाकिस्तान र भारतमा समेत महसुस गरिएको थियो ।

अफगानिस्तान भूकम्पीय जोखिमयुक्त क्षेत्रमा पर्छ । विगत एक दशकमा त्यहाँ भूकम्पमा परेर ७ हजार जनाभन्दा धेरै मानिसले ज्यान गुमाएका संयुक्त राष्ट्र सङ्घको प्रतिवेदनमा उल्लेख छ।

© 2022 All Right Reserved DiasporaNepal