बेलायतमा ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ नारासहित नेपाली मेलाको तयारी

३ महिनाs अगाडि

डायस्पोरा नेपाल


लन्डन । आगामी अगष्ट २८ तारिखमा १३ औं नेपाली मेला आयोजना हुदैछ । केम्प्टन पार्कमा नेपाली मौलिक भेषभुषामा आयोजना हुन लागेको मेलामा सहभागिताका लागि तमुधिं यूकेले अपिल गरेको छ । तमुधिं यूकेले सन् २००९ देखि गर्दै आएको मेला बिचमा कोभिडका कारण रोकिएको थियो ।

आयोजक तमुधिं यूकेले आइतबार आफ्नै भवन मिचेटमा पत्रकार सम्मेलन गरी लन्डनको केम्पटन पार्क रेसकोर्समा हुने मेलाको तयारी पूरा भएको जानकारी दिएको हो । तमुधिं यूके अध्यक्ष हित काजी गुरुङले नेपाली मेला तमुहरुको मात्र नभइ सम्पूर्ण नेपालीको भएकोले यसलाई सफल पार्न सबैको सहयोगको अपील गरे । मेला संयोजक एवम् तमुधिं यूके वरिष्ठ उपाध्यक्ष हरि गुरुङले मेलाको तयारीबारे अवगत गराए । संयोजक गुरुङले ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ नारासहित हुन लागेको मेला लन्डनस्थित नेपाली राजदूतावासको प्रत्यक्ष सहयोग रहने जनाए ।
मेलामा ३२ संघसंस्थाले भाग लिने तय भएको छ । गत वर्ष यो संख्या १८ थियो । मेलामा संघसंस्थाको उत्साहजनक सहभागिता रहेकाले बढी नेपालीहरुको सहभागीता रहने अपेक्षा गरिएको छ । मेलामा १४ वटा सांस्कृतिक नाच प्रस्तुत हुनेछ ।संस्कार संस्कृतिलाई जगेर्ना, नयां पुस्तालाई मेलामार्फत अन्तरघुलन गराउने सकिने अपेक्षा उनको छ ।
मेला हेर्न १२ वर्ष माथिका वयस्कका लागि ५ पाउण्ड र कार पार्कको ५ पाउण्ड प्रवेश शुल्क अनिवार्य लाग्नेछ भने ११ वर्ष मुनिका बालबालिकाका लागि नि शुल्क छ ।

मेलामा प्रस्तुत हुने सांस्कृतिक झांकी र नृत्यका आधारमा उत्कृष्ट हुनेलाई दूतावासले प्रायोजन गरेको ‘एम्बासडर कप’ दिइनेछ ।

त्यस्तै, तमुधिं यूकेका तर्फबाट प्रथम हुनेलाई ११ सय पाउण्ड, दोश्रो हुनेलाई ७ सय पाउण्ड र तेश्रो हुनेलाई ५ सय पाउण्ड पुरस्कारको व्यबस्था गरिएको छ । एनआरएनए यूकेले प्रायोजन गरेको एनआरएनए कपको पुरस्कार राशी भने टुंगो लाग्न नसकेको संयोजक गुरुङले जनाए ।

त्यसैगरी, झांकी तर्फ उत्कृष्ट मध्ये प्रथम हुनेलाई ५ सय पाउण्ड, दोश्रोलाई ३ सय पाउण्ड र तेश्रो हुनेलाई २ सय पाउण्ड दिइनेछ । सांस्कृतिक नृत्यमा उत्कृष्ट पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः ५ सय, ३ सय र २ सय पाउण्ड पुरस्कार दिइने संयोजक गुरुङले जनाए ।
मेलामा कम्तीमा ३७ हजार २ सय पाउण्ड खर्च हुने अनुमान छ । करिब ५ हजार दर्शक टिकट बिक्री र कार पार्क, स्टल आदिबाट ३२ हजार ३ सय आम्दानी हुने अपेक्षा गरिएको छ । बांकी खर्च विभिन्न दाताबाट जुटाउन कोशिस गरिनेछ ।

मेलामा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य प्रमुख अतिथी रहनेछन् । तमुधिं यूके महासचिव परशुराम गुरुङले सञ्चालन गरेको उक्त पत्रकार सम्मेलनमा उठेका प्रश्नहरुको तमुधिं यूके अध्यक्ष गुरुङ, मेला संयोजक एवम् उपाध्यक्ष गुरुङ लगायतले जवाफ दिएका थिए ।

© 2022 All Right Reserved DiasporaNepal