दसैँका लागि उपत्यका छाड्नेको सङ्ख्या बढ्न थाल्यो

१ वर्ष अगाडि

नारायण ढुङ्गाना

Photo: Bikash Dware
Photo: Bikash Dware

काठमाडौँ । नेपालीको महान् चाड बडादसैँ नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढ्न थालेको छ । यही असोज १ देखि सात गतेसम्म भित्रिने र बाहिरिने यात्रु बराबर थिए । अहिले भने बाहिरिने यात्रु बढिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । काठमाडौँ भित्रिने र बाहिरिने यात्रुको सङ्ख्या विष्लेषण गर्दा अहिलेसम्म औपचारिकरुपमा एक लाख बढी यात्रु काठमाडौँबाट बाहिरिएका छन् । प्रहरीलेको अभिलेखभन्दा बाहिरबाट समेत यात्रु बाहिरिएका छन् ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले विस्तारै यात्रु बाहिरिनेक्रम बढिरहेका र दसैँ बिदा सुरु भएपछि भने यो सङ्ख्या अझै बढ्ने बताए । “अहिलेसम्म सामान्यरुपमा बढिरहेको छ, आजदेखि भने बाहिरिने यात्रुको चाप बढ्छ”, महाशाखाका प्रमुख भट्टराईले भने, “यात्रुको सहजताका लागि हामीले चुस्त ट्राफिक व्यवस्थापन मिलाएका छौँ, बाहिरिने यात्रुका सहज व्यवस्थापनका लागि रातदिन नभनी प्रहरी खटाइएको छ ।”

यही असोज १६ गतेसम्म यात्रु हाराहारीमा भित्रिने र बाहिरिने गरेका थिए । प्राप्त विवरणअनुसार १६ गते भित्रिने सङ्ख्या ४२ हजार २२६ थियो भने बाहिरिने सङ्ख्या ४१ हजार ४८४ थियो । त्यसपछि भने बाहिरिने यात्रुको चाप बढेको हो । असोज १६ गते भित्रिने ३८ हजार ७४९ रहेकामा बाहिरिने यात्रु बढेर ४३ हजार ४३९ पुगेका थिए । त्यसपछि क्रमशः बाहिरिने यात्रु बढ्न थालेका हुन् । 

यही असोज २१ गते सात हजार २८० सवारी साधनमा ३४ हजार १४६ यात्रु भित्रिएकामा सोही दिन सात हजार ८१४ सवारी साधनमा ४५ हजार ३६२ यात्रु बाहिरिए । महाशाखाले दिएको तथ्याङ्कअनुसार असोज २२ गते शुक्रबार छ हजार ७७८ सवारीमा ३२ हजार ९८४ यात्रु भित्रिएका थिए । सोही दिन सात हजार ३१५ सवारीमा झण्डै ५२ हजार यात्रु बाहिरिएका छ । त्यसपछि बाहिरिनेक्रम झन् बढिरहेको महाशाखाले जनाएको छ ।

असोज १ देखि २२ सम्ममा कूल एक लाख ४२ हजार २२७ सवारी साधनमा सात लाख ७६ हजार ३७१ यात्रु भित्रिएका तथ्याङ्क छ । सोही अवधिमा कूल एक लाख ४३ हजार ७७३ सवारी साधनमा आठ लाख ७० हजार ४९६ यात्रु बाहिरिएका महाशाखाले जनाएको छ । प्राप्त विवरणमा अहिलेसम्म यात्रु भित्रिने र बाहिरिने सङ्ख्याका हिसाबले एक लाख बढी यात्रु बाहिरिएका छन् । 

यद्यपि रिजर्ब गरेर जाने यात्रुको सङ्ख्या यसपाली बढी छ । त्यसरी जानेको सङ्ख्या भने प्रहरीको अभिलेखमा रहँदैन । साथी वा आफ्नो परिवार मिलेर साना गाडी रिजर्ब गर्ने अनि घर जाने प्रचलन यसपाली बढी देखिएको महाशाखाका प्रहरी निरीक्षक जितेश दाहालले जानकारी दिए ।

यसपाली  असोज ११ गतेदेखि गाडीको अग्रिम टिकट बिक्री खुला गरिएको थियो । अहिले पनि अनलाइन वा प्रत्यक्ष भेटेर टिकट काट्ने यात्रुको चाप बढी छ । त्यस्ता काउन्टर तथा यात्रुको भिडभाड हुने क्षेत्रमा भिडभाड रोक्न प्रहरी परिचालन गरिएको महाशाखाले जनाएको छ । 

प्रहरीले उपत्यकाका मुख्य चोकमा यात्रु सहायता कक्षा स्थापना गरी सेवा दिइरहेको छ । माइकिङ गरेर यात्रुलाई सचेत गराउने, सुरक्षित यात्राका लागि आग्रह गर्ने गरिरहेको छ । कोभिड–१९ का कारण उपत्यकामा विगतका वर्षमा भन्दा मानिस कम रहेका जनाइएको छ ।

यद्यपि प्रहरीले चाडबाडका मौका छोपी चोरी तथा आपराधिक घटना घटाउनसक्ने हुनाले त्यसको निगरानीका लागि र शान्तिसुरक्षा कायम गर्न ७७ वटै जिल्लामा विशेष सुरक्षा योजना बनाएर लागू गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले साता पोशाकमा समेत प्रहरी परिचालन गरेर ठगी, कालोबजारी, चोरी आपराधिक क्रियाकलाप नियन्त्रण्मा प्रहरी खटाइएको जानकारी दिए ।

चाडबाडका बेला आफैँ पनि सावधान हुन र केही समस्या घटना परेमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरी प्रधान कार्यालयले सबैमा अनुरोध गरेको छ ।

बडादसैँको चौँथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।

प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामकरण भएको हो । कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ । 

नवरात्रको पहिलो दिन असोज २१ गते बिहीबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन शुक्रबार पूजास्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन शनिबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिएको थियो ।

चौँथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् ।

दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौ दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ । 

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । गत वर्ष नवरात्रका बेला कोरोना भाइरसको सङ्क्रमण बढेकाले धेरै मन्दिर बन्द थिए । यस वर्ष जोखिम कम देखिनुका साथै करिब आधा जनसङ्ख्याले खोप लगाइसकेकाले भौतिक दूरी अपनाएर स्वास्थ्य सुरक्षाका विधिसहित देवी मन्दिर खुला गर्न दिइएको छ । 

जहाँ भक्तजन पुग्ने गरेका छन् । सबैजसो भक्तजनले मास्क लगाए पनि दूरी कायम भने राम्रोसँग हुन सकेको छैन । कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका विधि अपनाएर मात्र मठमन्दिर जाने, खानपिन गरी दसैँ, तिहारजस्ता चाडपर्व मनाउन तीनै तहका सरकारले आह्वान गरेका छन् ।
© 2022 All Right Reserved DiasporaNepal