बेलायतमा १२ औं नेपाली मेलाको तयारी
फेस मास्क अनिवार्य
लण्डन । तमुधिं यूकेको आयोजनामा अगस्ट २९ मा आइतबार हुने १२ औं नेपाली मेलाको तयारीको विषयमा जानकारी गराएको छ ।
पत्रकार सम्मेलनमा मेला संयोजक समेत रहेका बरिष्ठ उपाध्यक्ष हरि गुरुङले मेलाको तयारीबारे जानकारी गराए ।
केम्पटन पार्क रेसकोर्समा विहान १० बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुने उक्त मेलामा बेलायत सरकारले कोभिड सम्बन्धी नियमहरु हटाएपनि मास्क भने अनिवार्य गरिएको उनले बताए ।
बेलायतस्थित नेपाली राजदूतावासको प्रायोजनमा आयोजना हुने एम्बेसडर कपमा प्रथम पुरस्कार एक हजार १ सय, द्धितिय पुरस्कार ७ सय, तथा तृतिय पुरस्कार ५ सय पाउण्ड रहने भएका छन् ।
सांस्कृतिक नाँच, झाँकी प्रदर्शन लगायतका विविध प्रतियोगिताहरुमा यूकेमा रहेका १९ वटा संस्थाले भाग लिने उनले बताए । जसमा ३१ हजार पाउण्ड आम्दानी हुने उनको भनाइ छ ।
झाँकी तर्फ प्रथम पुरस्कार ५ सय पाउण्ड, दोस्रो पुरस्कार ३ सय तथा नृत्यतर्फ प्रथम हुनेलाई ५ सय, द्धितिय हुनेलाई ३ सय पाउण्ड प्रदान गरिने भएको छ । जसमा एनआरएनए यूकेले ३ सय पाउण्ड सहयोग गर्ने भएको छ ।
झाँकीको लागि निर्णायक ४ जना नेपाली कला संस्कृतिविद रहेका छन् । नृत्यको लागि ३ जना निर्णायक रहने भएका छन् । उक्त प्रतियोगिताको लागि लण्डन दूतावासबाट सहयोग प्राप्त हुनेछ ।
राजदूत लोकदर्शन रेग्मीले उद्घाटन गर्ने उक्त कार्यक्रममा २७ ब्यापारी स्टल रहनेछन । हरेक स्टल नेपाल झल्कने व्यापार रहने आयोजकले जनाएको छ ।
मेलास्थलमा राखिने नेपाली खाना, व्यवसाय तथा च्यारिटीका स्टल र युवाहरुको सांगीतिक प्रस्तुतिसहितका सांस्कृतिक कार्यक्रम पनि विशेष आकर्षण रहनेछन् ।
तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङले मेलामा नेपालका प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, पर्यटकीय स्थल लगायतको प्रदर्शनी हुने बताए ।
बेलायतबासी सबै नेपाली जातजाती, धर्म, सम्प्रदायका मानिसहरुको सामूहिक पर्वको रुपमा यस कार्यक्रमलाई प्रभावकारी बनाउने भन्दै उनले सबै बेलायतबासी नेपालीहरुलाई कार्यक्रममा सहभागि हुन् अपिल गरेका छन्। (लण्डननेपाल न्युज)